स्वास्थ्य चौकीका लागि एक करोड मूल्य बराबरको जग्गा दान

राजविराज, १४ मंसिर । स्वास्थ्य चौकी निर्माणका लागि सप्तरीको मधुवापुरमा एक व्यक्तिले बुधबार रु एक करोड मूल्य बराबरको सात कट्ठा जग्गा दान गरेका छन् ।

सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका–४ मधवापुरस्थित जिल्ला पञ्चायतका पूर्व सभापति स्व कृष्णदेव झाको स्मृतिमा उनका कान्छा छोरा शैलेन्द्रचन्द्र झा र बुहारी सञ्जु झाले स्व पिताको पुख्र्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि सो जग्गादान गरेका हुन् ।

स्वास्थ्य चौकी भवनको शिलान्याससमेत जग्गादाता शैलेन्द्रले गरे। रु दुई करोड ४२ लाख ८० हजारको लागतमा बन्न लागेको उक्त भवन एक वर्षभित्र निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीका इञ्जिनियर कमलप्रसाद भट्टराइले बताए ।

सो ठाउँमा स्वास्थ्य चौकी निर्माण भएपछि बर्थिङ सेन्टर निर्माणका लागिसमेत पहल गरिने जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

आफ्नो गाउँ र वरिपरिको बासिन्दाले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले जग्गादान गरेको जग्गादाता शैलेन्द्रले बताए । यहाँ स्वास्थ्य चौकी निर्माण भएपछि हजारौँ जनता लाभान्वित हुने स्थानीय कोशलकुमार साहले विश्वास व्यक्त गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *