निमोनिया निको भएपछि कांग्रेस नेता निधि अस्पतालबाट डिस्चार्ज
काठमाडौँ, ११ मंसिर । ओम अस्पतालमा उपचाररत पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि सोमबार डिस्चार्ज भएका छन् । एक साता लामो उपचारले स्वास्थ्यमा सुधार आएपछि उनी डिस्चार्ज भएका हुन् ।
लगातार ज्वरो आई छातीमा समेत समस्या देखिएपछि निधि गत ४ मंसिरमा अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनमा निमोनियाको संक्रमण भएको पाइएको थियो ।
निधिको उपचार पेटरोग विशेषज्ञ डा. राहुल पाठक, छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले गरेको थियो ।
डिस्चार्ज अघि हस्पिटल डाइरेक्टर डाक्टर जागेश्वर गौतम, प्रशासन प्रबन्धक विजय प्याकुरेल लगायतले निधिको स्वस्थ्य जीवनको कामना सहित विदाई गरेका थिए ।
यसो त अस्पतालमा भर्ना भएका बेला निधिको स्वास्थ्य अवस्था बुझ्न प्र्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव, भारतीय राजदूत मञ्जीवसिंह पुरी लगायत अस्पताल पुगेका थिए ।
निधि धनुषा क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्धवार बनेका छन् ।
सम्पर्क इमेल : [email protected]