महिला स्वास्थ्य स्वयंसेविकालाई मुख स्वास्थ्य सम्वन्धी प्रशिक्षण
काठमाडौँ, ९ मंसिर । महिला स्वास्थ्य स्वयंसेविकाहरुले मुख स्वास्थ्य सम्वन्धी एक दिने प्रशिक्षण पाएका छन् । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले मुख स्वास्थ्य सम्वन्धी प्रशिक्षण दिएको हो ।
प्रशिक्षणमा टोखा र बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडामा कार्यरत ५० जना महिला स्वयंसेविकाहरु सहभागी थिए । उनीहरुलाई डा स्मिता ढकाल, डा अन्जु खापुङ, डा सुनिता खनाल र डा रोशनी भट्टराईले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण पछि नेपाली हेल्थसंग कुराकानीमा डा स्मिताले स्थानीयस्तर (टोल छिमेक)मा स्वास्थ्य सम्वन्धी जनचेतना फैलाउने कार्यमा खटिने स्वयंसेविकाहरुलाई मुख स्वास्थ्यको बारेमा जानकारी गराउँदा उनीहरुबाट स्थानीय सर्वसाधारणले समेत जानकारी पाउने भएकोले प्रशिक्षण दिइएको बताइन ।
उनले आफूहरुको प्रशिक्षणले स्वयंसेविकाहरुले दाँतमा किरा लाग्न नदिन के गर्ने ? गिजा सुन्निए के गर्ने ? सुन्निन नदिन के गर्ने ? मुख स्वास्थ्य राख्दा के फाइदा हुन्छ ? मुख स्वास्थ्य कसरी राख्ने आदि बारेमा भन्न सक्ने बताइन ।
‘बाम गठबन्धनको सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको माग पुरा गर्नेछ’
यसैबीच एमाले महासचिव एवं काठमाडौँ क्षेत्र नम्वर ५ का उम्मेद्धार ईश्वर पोखरेलले निर्वाचन पछि बन्ने बामपन्थी सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको समस्या हल गर्ने बताएका छन् ।
बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरले महिला स्वास्थ्य स्वयंसेविकाको लागि राखेको एक दिने मुख स्वास्थ्य सम्वन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने क्रममा महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।
उनले नेपालको बाल तथा मातृशिशु कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेपनि सरकारले न्यूनतम आवश्यकता पूर्ति गर्न नसकेको भन्दै आफूहरुको नेतृत्वमा बन्ने सरकारले त्यो समस्या समाधान गर्ने ठोकुवा गरे ।
‘नेपालको स्वास्थ्य क्षेत्र, त्यसमा पनि बाल तथा माृतशिशु कार्यक्रममा तपाईँहरुको योगदान ज्यादै नै महत्वपूर्ण छ । तर हामीले थाह पाएका छौँ राज्यले सामान्य सुविधा समेत तपाईँहरुमा दिएको छैन । चुनाव पछि बामपन्थीको सरकार बन्नेवाला छ । त्यसले तपाईँहरुका ती समस्या समाधान गर्नेछ,’ महासचिव पोखरेलले भने ।
कार्यक्रममा कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गर्न तथा मुख स्वास्थ्य प्रति आम जनतालाई सचेत गराउन स्वंयसेविकाहरुलाई प्रशिक्षण दिने व्यवस्था गरेको बताए ।
उनले स्याङजाको तत्कालिन चापाकोट गाविस, कास्कीको कालिका गाविस हुँदै अहिले काठमाडौँको टोखा बुढानिलकण्ठ नगरपालिकाका स्वयंसेविकाहरुमा यो कार्यक्रम शुरु गरिएको बताए ।
उनले घर घरमा पुग्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षण दिँदा त्यसको सकारात्मक प्रभाव स्थानीय सर्वसाधारणले पाउने बताए ।
सम्पर्क इमेल : [email protected]