प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल बनाउने
कञ्चनपुर, ७ मंसिर । कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन र नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारले दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल बनाउने चुनावी एजेण्डा बनाएका छन् ।
वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा दीपक प्रकाश भट्टले स्वास्थ्य केन्द्रलाई ५० श्ययाको अस्पताल बनाउने एजेण्डा अघि सारेका हुन्। वाम गठबन्धनको सबै स्थानीय तहमा ५० श्ययाको अस्पताल बनाउने चुनावी एजेण्डा छ ।
काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश लेखकले पनि स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउने चुनावी एजेण्डा अघि सारेका छन्। उनी २०५६ देखि निरन्तर यस क्षेत्रको सांसद रहँदै आएका छन्।
पचास हजार जनसंख्या रहेको दोधारा चाँदनी अहिले माहाकाली नगरपालिका बनेको छ । यहाँ २२ हजार ३१५ मतदाता छन् । कञ्चनपुर क्षेत्र नं ३ को जितमा माहाकाली निर्णायक हुने भएकाले दुवै उम्मेदवारमा मत तान्ने प्रतिस्पर्धा बढेको छ ।
उम्मेदवार लेखकले स्वास्थ्य केन्द्रको स्तरोन्नतिबाहेक महाकाली पुल, सुख्खा बन्दरगाह र नदी नियन्त्रणलाई पनि चुनावी एजेण्डा बनाएका छन् ।
अर्का उम्मेदवार भट्टले महाकालीमा पुल, सुख्खा बन्दरगाह, तटबन्ध निर्माणसहित दोधारा चाँदनीमा माला आकारको चक्रपथ निर्माण, सिँचाइ सुविधा, विद्युतीकरण, सडक कालोपत्रे, प्राविधिक शिक्षालय स्थापनालगायतका चुनावी एजेण्डा बनाएका छन् ।
सम्पर्क इमेल : [email protected]