एमडीजीपीको अन्तराष्ट्रिय सम्मेलन आगामी शनिबारबाट शुरु हुँदै
काठमाडौँ, ५ मंसिर । जेनेरल प्राक्टिसन एसोसिएशन अफनेपाल ( जीपान) जेनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलन आगामी ९ र १० मंसिरमा काठमाडौँमा हुने भएको छ ।
नेपालमा सात बर्ष पछि हुन लागेको यो सम्मेलनमा देशभरका ४ सय बढी एमडीजीपी र विभिन्न २२ मुलुकका अरु डेढ सय बढी एमडीजीपीहरुको सहभागिता हुने आयोजकले जनाएको छ । कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने बताइएको छ ।
सम्मेलन आयोजक समिति अध्यक्ष प्राडा प्रताव नारायण प्रसादले एमडीजीपीहरुको मुख्य भूमिका रोगहरुको उपचार गर्नु मात्रै नभई यसको विस्तारित सेवा विश्वव्यापी स्वास्थ्यको हेरेबिचार रहेको बताउँछन् । जीपानले स्वास्थ्य सम्वन्धी विभिन्न संघ संस्थाहरुबीच जोडने काम गरेको भन्दै युनिभर्सल हेल्थ कभरेज मूल नारा रहेको बताए ।
जीपानका अध्यक्ष प्राडा भरतकुमार यादवले नेपालमा यसरी सम्मेलन गर्न पाउनु खुशीको कुरा रहेको भन्दै देशको दुर्गम भेगमा कसरी सेवा विस्तार गर्ने भन्ने बारेमा सम्मेलन केन्द्रीत रहने बताए ।
एमडीजीपी डा केदार सेन्चुरीले नेपालमा एमडीजीपीको महत्व झन झन बढदै गएको भन्दै सबै जिल्लामा अझै एमडीजीपी पुग्न नसकेको बताए ।
सम्मेलन संयोजक डा सञ्जीव तिवारीले राष्ट्रिय तथा अन्तराष्ट्रिय जीपीहरुबाट एक आपसमा ज्ञान तथा अनुभव आदान प्रदान गर्ने मौका मिल्ने बताए ।
जेनरल प्राक्टिस र इमरेजेन्सी मेडिसिनमा स्नातकोत्तर गरेका चिकित्सकहरुको संस्था सन १९९०मा स्थापना भएको थियो । नेपालमा पोष्ट ग्राजुएट्स तहको पहिलो अध्ययन एमडीजीपी विषयमा भएको थियो ।
सन् १९८२ मा चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले यो कोर्ष शुरु गरेको थियो । अहिले आइओएम सहित न्याम्स, वीपीकेआइएसएच धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, युभिभर्सल मेडिकल कलेज भैरहवा, नेशनल मेडिकल कलेज विरगञ्जमा यो विषयको अध्ययन हुन्छ ।
सम्पर्क इमेल : [email protected]