इटहरीमा एम्बुलेन्सको ठक्करबाट तीन जनाको मृत्यु


सुनसरी ४ मंसिर । जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

इटहरीबाट उत्तरतिर जाँदै गरेको को२२प ४६७ नंको स्कुटर र धरानबाट इटहरीतिर आउँदै गरेको को१च ७००९ नंको एम्बुलेन्स एक आपसमा जुध्दा स्कुटरमा यात्रारत तीनजना गम्भीर घाइते भएको तथा उनीहरुको उपचारका लागि धरान लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

सवारी दुर्घटनामा परेर मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–२ निवासी ४५ वर्षीय डुकबहादुर कार्की, पाल्पाको भैरवस्थान ऋद्धि गाउँपालिका निवासी ४० वर्षीय निर्माण गौतम र ४१ वर्षीया सरिता काफ्लेको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले आज बिहान जानकारी दिएको छ ।

स्कुटरलाई ठक्कर दिने एम्बुलेन्स र त्यसका चालक सुनिल खड्कालाई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको तथा मृत्यु भएका तीनै जनाको शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

इटहरीमा गत विहीबार पनि एम्बुलेन्सले ठक्कर दिँदा मोटरसाइकल सवार एक व्यक्तिको मृत्यु भएको थियो । गत विहीबार पौने छ बजे तिर भएको घटनामा परी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नासु रामचन्द्र भट्टराईको मृत्यु भएको थियो ।

विरामी बोक्ने एम्बुलेन्स एक पछि अर्को दुर्घटनामा पर्न थालेपछि आम सर्वसाधारण भने चिन्तित देखिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *