एक हुँदै बाम गठबन्धन निकटका स्वास्थ्यकर्मी संगठन
काठमाडौँ, १ मंसिर । नेकपा एमाले र माओवादी (केन्द्र) बीच बनेको बाम गठबन्धनको प्रभाव तीनका भातृ संगठनका रुपमा स्थापित स्वास्थ्यका ट्रेड युनियनमा समेत देखिन थालेको छ । ती संगठनले आउँदो चुनावमा एक आपसमा गठबन्धन गरी क्रियाशिल हुने र त्यसपछिको एकता प्रक्रियालाई सहज ढंगले अघि बढाउने निर्णय गरेका छन् ।
त्यसका लागि एमाले निकटको राष्ट्रिय स्वास्थ्यकर्मी संघ, माओवादी निकटको अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनले केन्द्रीय संयोजन समिति बनाई तयारी थालेका छन् ।
संघका अध्यक्ष भक्तिमान सुब्बाको अध्यक्षतामा विहीबार बसेको तीनवटै संगठनका पदाधिकारी बैठकले ६ सदस्यीय केन्द्रीय संयोजन समिति बनाउने र सोही अनुसार प्रदेश, जिल्ला र स्थानीय तहमा समिति बनाउने निर्णय गरेको छ ।
केन्द्रीय संयोजन समितिमा राष्ट्रिय स्वास्थ्यकर्मी संघबाट भक्तिमान सुब्बा, बिष्णु फुयाल, प्रगतिशील स्वास्थ्यकर्मी संगठनबाट क्षेत्रराज कार्की र तिर्थराज आचार्य तथा नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनबाट चित्र जंग शाही र चन्द्रबहादुर खत्री रहेका छन् ।
बैठकले आउँदो चुनावमा तीनवटै संगठन मातहतका कमिटिलाई एउटै गठबन्धनमा रहेर सहयोग गर्न र एकताको बाताबरण मिलाउन समेत निर्देशन दिएको छ । बैठकले ट्रेड युनियन अधिकार, निर्वाचनमा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मीको मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएको छ ।
सम्पर्क इमेल : [email protected]