डाक्टरसंग अम्मलीका एउटै प्रश्न: ‘चुरोट छोड्ने औषधि छैन ?’
काठमाडौँ, ३० कात्तिक । छ महिना अघि देखि बसुन्धरास्थित केडीसी हस्पिटलमा सूर्तिजन्य पदार्थ परित्याग केन्द्र (टोबाको सेन्सेसन क्लिनिक) सञ्चालनमा आएको छ ।चुरोट तथा खैनी जस्ता सूर्तिजन्य पदार्थको कुलतबाट निस्कन चाहनेका निशुल्क रुपमा परामर्स दिइने यो क्लिनिकमा आउने प्रायले चुरोट छोड्ने औषधि खोज्ने गर्दछन् ।
हप्ताको एक दिन आइतबार विहान ९ देखि ४ बजेसम्म सञ्चालनमा आउने यो क्लिनिमा मुख तथा दन्त परीक्षण गर्न आउनेहरुले परामर्स लिने गरेका छन् । तर उनीहरुले परामर्श पछि उहाँहरुको एउटै कुरा हुन्छ्, चुरोट छोडने औषधि छैन ? क्लिनिककी संयोजक डा. स्मिता ढकालले बताइन् ।
उनले क्लिनिकमा आउनेहरु ३० देखि ४५ बर्ष उमेरका बढी भएको बताइन ।’प्राय दाँतको उपचार गर्न आँउदा चुरोट खैनीले परेको असरको बारेमा जानकारी पाउँनुहुन्छ । त्यसपछि परामर्शका लागि लागि आउनुहुन्छ । हामीले उहाँहरुलाई चुरोट छोडने विविध तरिका सिकाएका छौँ’, डा. ढकालले भनिन् ।
विश्व स्वास्थ्य दिवसको अवसरमा केडीसीले गत २५ चैत अस्पतालमा ‘टोबाको सेन्सेसन क्लिनिक’ सञ्चालनमा ल्याएको हो । यस्तो खालको सेवा सञ्चालन गर्ने आफू पहिलो निजी अस्पताल भएको केडीसीको दावी छ । केडीसीले सामाजिक उत्तरदायित्व अन्तरगर्त यो परामर्श सेवा निशुल्क रुपमा सञ्चालन गरेको जनाएको छ ।
नि:शुल्क ‘ओरल क्यान्सर स्क्रिनिङ’ कार्यक्रम सञ्चालन
यसैबीच केडीसी हस्पिटलले उपत्यकाका तीनवटा स्थानलाई बेस बनाई निशुल्क रुपमा ओरल क्यान्सर स्क्रिनिङ कार्यक्रम शुरु गरेको छ । काठमाडौँका मनमैजु, टोखा र बुढानिलकण्ठलाई आधारक्षेत्र बनाई यो कार्यक्रम शुरु गरेको हो ।
डा. ढकालका अनुसार टोखामा हरेक महिनाको अन्तिम सोमबार, मनमैजुमा हरेक महिनाको अन्तिम मंगलबार र बुढानिलकण्ठमा हरेक महिनाको अन्तिम विहीबार ओरल क्यान्सर स्क्रिनिङ कार्यक्रम गर्ने गरिएको छ । यो कार्यका लागि विशेषज्ञ चिकित्सकहरु नै फिल्डमा खटिने डा. ढकालले बताइन ।
त्यसो त केडीसीको सामुदायिक तथा जनस्वास्थ्य दन्त चिकित्सा विभागले हरेक साता जसो निशुल्क स्वास्थ्य शिविर गर्दै आइरहेको छ ।
सम्पर्क इमेल : [email protected]