सात वर्ष साउदी बसेकी सुनिताको कमाइ : मानसिक रोग !

बनियानी, झापा, २६ कात्तिक ।  वैदेशिक रोजगारमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ युवा विदेशिने गरेका छन् । तर, सबैको सपना पूरा हुन्छ भन्ने छैन । कोही राम्रै दाम लिएर आउँछन्, त कोही रोगिएर थिलथिलो शरीर लिएर भने कोही बाकसमा । 

यस्तै, सुन्दर भविष्यको खोजीमा सात वर्षअघि साउदी अबर पुगेकी बिर्तामोड नगरपालिका–८ गरामनीकी सुनिता गामी (४०) मानसिक रोगी भएर फर्किएकी छन् । सात वर्षअघि घरेलु कामदारका रुपमा भारतीय बाटो हुँदै साउदी पुगेकी सुनिता गत वैशाखमा नेपाल फर्किएकी हुन् ।

घरमालिकको शारीरिक र मानसिक यातनाले हाल उनी विक्षिप्त अवस्थामा रहेकी छन् । स्थानीय मंगलु राजवंशीले सम्पर्क गराएपछि झापा धाइजनका अभिषेक धिमालले सुनितालाई भारतको बाटो हुँदै साउदी पठाएको श्रीमान् नारायण गामीले जानकारी दिए ।

“साउदी पुगेको एक महिनापछि सुनिताले फोन गरेकी थिई”, नारायणले  भने, “त्यसयता सम्पर्क हुन सकेन ।” सुनितालाई साउदी पठाउने धिमाल हाल सम्पर्कविहीन छन् ।

सात वर्षपछि सदस्य घर फर्किंदा खुसी भए पनि सुनिताको अवस्थाले परिवार चिन्तामा छ । “छोरा पढाउने र घर बनाउने सपना थियो”, नारायणले भने, “पैसा कमाउनु त टाढाको कुरा श्रीमतीको यस्तो हालत भयो ।” हाल सुनिताको उपचार भइरहेको उनले बताए ।

मासिक रु १४ हजार पारिश्रमिक पाउने शर्तमा साउदी पुगेकी सुनिताले गएको चार महिनापछि रु ५० हजार पठाएकी थिइन् । सो रकम उनले आफ्नो देवर प्रमोदको नाममा पठाएकी थिइन् । त्यसपछि कुनै रकम नपठाएको परिवारले जनाएको छ ।

तर, उद्धार गरी नेपाल फर्किएपछि सुनिताको तलबबापतको रु १० लाख पाएको श्रीमान् नारायणले बताए । उनले भने, “सोही रकमले श्रीमतीको उपचार गरिरहेकी छु ।” उनले दोषीलाई कारबाहीको माग गर्दै न्यायका लागि अपिलसमेत गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *