उपचार खर्च मागिएका १३४५ वटा फाइल मन्त्रालय फिर्ता गर्ने तयारी

काठमाडौँ, २३ कात्तिक । औषधि उपचार खर्च उपलव्ध गराइदिनु भन्दै स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट आएका १ हजार ३४५ वटा फाइल स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले मन्त्रालय फिर्ता पठाउने भएको छ ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तरगर्त रहेको विपन्न नागरिक उपचार कोष सचिवालयले तोक आदेश लगाई आएका ती फाइलहरुमा खर्च उपलव्ध गराउन नमिल्ने भन्दै फाइल फिर्ता गर्न लागेको हो ।

विपन्न उपचार कोष सचिवलायका सम्पर्क व्यक्ति प्रकाश घिमिरेले २०७१ साल देखिका फाइलहरु त्यत्तिकै थन्किएर बसेकोले त्यसको अन्तिम टुंगो लगाइदिन मन्त्रालय पठाउन लागिएको बताए । उनले भने, ‘हामीकहाँ फाइल त आयो तर उपचार सहयोग गर्ने जुन निर्देशिका छ त्यस अनुसार नमिल्ने भयो । त्यसैले ति फाइलहरु पेन्डिङमा रहे । हामीले यसलाई मन्त्रालय नै फिर्ता पठाउन लागेका हौँ । सम्भवत शुक्रबार ती फाइलहरु मन्त्रालय जानेछन् ।’

सरकारले विपन्न नागरिकका लागि विभिन्न आठ वटा कडा रोगको उपचारका लागि सहुलियत दिने गरेको छ भने राष्ट्रिय जीवनका उत्कृष्ठ व्यक्तिहरुका लागि १२ प्रकारका रोगको उपचारमा सहुलियत दिने गरेको छ । तर अहिले फिर्ता पठाउन लागेका फाइलहरु ती बाहेकका रोगको उपचारमा सहयोग मागेका तथा दोहोरयाएर उपचार सहुलियत लिन खोजेकाहरुको हो ।

सरकारले विपन्नको उपचारका लागि मात्रै बर्षमा डेढ अर्व बढी रकम खर्च गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *