बजेट निकासा नहुँदा अस्पतालको सेवामा समस्या
बैतडी, २२ कात्तिक । दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ ।
बैतडी जिल्ला अस्पताल विकास समितिको मंगलबार बसेको बैठकमा अस्पतालले सञ्चालन गर्ने सेवा बजेटको अभावमा प्रवाह गर्नमा समस्या भएको जानकारी दिइएको छ ।
यसअघि अस्पताल विकास समितिकै खातामा आउने रकम दशरथचन्द नगरपालिकाको खातामा आएको र अहिलेसम्म बजेट निकासा नहुँदा अस्पतालमा औषधि, केमिकललगायतका अति आवश्यक कुराको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए ।
जिल्ला अस्पताल र दशरथचन्द नगरपालिकाबीच समयमै समन्वय नहुँदा समस्या देखिएको हो । गएको असोज २६ गते नै बजेट निकासाका लागि नगरपालिकालाई पत्र लेखेको डा अवस्थीले बताए ।
नगरपालिकाले विविध कारणले अझै पनि बजेट निकासा गर्न सकिरहेको छैन । अस्पतालका लागि निकासा गर्नुपर्ने बजेट छिट्टै निकासाका लागि पहल गर्ने दशरथचन्द नगरपालिका–४ का वडाध्यक्ष मोहन चन्दले जानकारी दिए।
कर्मचारी अभाव, निर्वाचनलगायतका कारणले समयमा बजेट निकासा हुन नसकेको उनले स्वीकार गरेका छन् । अस्पतालमा देखिएको समस्या समाधानका लागि पहल गर्ने अस्पताल विकास समितिका अध्यक्ष रमेश भण्डारीले बताए ।
स्वास्थ्यको बजेट सबै स्थानीय तहमा गइसकेपछि पहिलो चौमासिकमा कुनै पनि कार्यक्रम सञ्चालन नभएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई हतारमा स्थानीय तहमा हस्तान्तरण गर्दा समस्या आएको डा अवस्थीले बताए। रासस
सम्पर्क इमेल : [email protected]