मिडवाइफ्री विषय पढाउने तयारीमा प्रसूतिगृह अस्पताल
काठमाडौँ, १५ कात्तिक । थापाथलीस्थित परोपकार तथा प्रसूति अस्पतालअन्तर्गतको परोपकार नर्सिङ कलेजले मिडवाइफ्री (प्रसूति विद्या) पढाउने भएको छ । अस्पतालका वरिष्ठ लेखाअधिकृत चन्द्रबहादुर गुरुङले त्यसका लागि कलेजले पाठ्यक्रम बनाउन शुरु गरिसकेको जानकारी दिए ।
उनले भने, “अहिले यसको पाठ्यक्रम बनाउने, भौतिक संरचना तयार पार्नेलगायतका आवश्यक तयारी थालिएको छ, भवन निर्माणको ७० प्रतिशत काम सकिसकेको छ । हामीले मिडवाइफ्रीको स्नातकोत्तर शिक्षा पनि पठाउने लक्ष्य राखेका छौँ ।”
नेपालमा पेशागत मिडवाइफ्री (प्रसाविका) को विकास गर्न सन् २००६ मा नेपाल सरकारले दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो । मिडवाइफ्री जनशक्ति तयार गर्न छुट्टै पाठ्यक्रम बनाई नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान न्याम्सको वीर अस्पताल नर्सिङ क्याम्पस र काठमाडौँ विश्वविद्यालय धुलिखेलमा १६ जनालाई मिडवाइफ्री पढाउन थालिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि छिट्टै मिडवाइफ्री अध्यापन शुरु गर्ने तयारी गरिरहेको छ । दक्ष चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा गर्भवती, सुत्केरी र शिशुको मृत्युदर उच्च रहेकाले अन्य विद्यालाई भन्दा मिडवाइफ्रीलाई प्रमुखता दिइएको छ ।
मिडवाइफ्री सोसाइटी अफ नेपालका अध्यक्ष प्रा किरण बज्राचार्यले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मिडवाइफ्री शिक्षा अनिवार्य रहेको बताइन ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट पनि मिडवाइफ्री शिक्षा अध्यापन गर्ने तयारी भइरहेको बताइएको छ ।
अहिले पनि गाउँमा दक्ष चिकित्सकको उपलब्धता नहुने भएकाले एउटा दक्ष मिडवाइफ्रीले स्वास्थ्यको पहुँच नपुगेका महिलालाई ठूलो राहत पु¥याउन सक्ने विश्वास लिइएको छ ।
यसै वर्ष शुरु भएको मिडवाइफ्रीमा हाललाई स्टाफ नर्सलाई अध्ययन गराइएको बताइएको छ । यसका लागि तीन वर्षमा करिब रु तीन लाख खर्च लाग्ने बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा महिला तथा नवजात शिशुको जीवन सुरक्षाका लागि थप नौ हजार दक्ष प्रसूतिकर्मीको आवश्यकता छ । रासस
सम्पर्क इमेल : [email protected]