दश वर्षमा १०२ जना एचआइभी संक्रमितको मृत्यु
भीमदत्तनगर, २ कात्तिक । विभिन्न समयमा गरेर कञ्चनपुरमा बितेको एक दशकमा एचआइभी/एड्सको संक्रमणबाट १०२ जनाको मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा रहेको एचआइभी एड्स उपचार कक्षका जनस्वास्थ्य निरीक्षक नन्दराम भट्टले जिल्लामा रहेका ४१८ जना एचआइभी संक्रमितमध्ये १०२ जनाको हालसम्म मृत्यु भएको जानकारी दिए ।
उनले एचआइभी/एड्स औषधि सेवन गर्न सम्पर्कमा नआउँदै २५ र औषधि सेवन गरिरहेका मध्येबाट ७७ जनाको मृत्यु भएको बताए । २१ बालबालिकासहित ३६८ जनाले नियमित औषधि सेवन गरिरहेको बताउँदै जनस्वास्थ्य निरीक्षक भट्टले पछिल्ला वर्षमा एचआइभीका संक्रमितहरु बढ्दै गइरहेको बताए।
“सम्र्पकमा आएकामध्ये २२ जनाले औषधि नै सेवन गरेनन्”, भट्टले भने, “दश जनाले औषधि सेवन गर्न बीचमै छाडे ।” संक्रमितहरु अञ्चल अस्पतालमा निःशुल्क औषधि लिन र स्वास्थ्य चेकजाँचका लागि नियमित आउने गरेका छन् । “शुरुमा त संक्रमित खुलेर आउनै अप्ठ्यारो मान्थे ।” जनस्वास्थ्य निरीक्षक भट्टले भने, “अहिले नियमित आएर औषधि लिएर जान्छन् ।” उनले संक्रमितको स्वास्थ्य परीक्षणदेखि विभिन्न किसिमका सुविधा अस्पतालले दिँदै आएको बताए । रासस
सम्पर्क इमेल : [email protected]