सिंहदरबार बैद्यखानाले बेच्यो तीन करोड बढीको औषधि
काठमाडौँ, ३१ असोज । सिंहदरबार वैद्यखाना विकास समितिले गत आर्थिक वर्षमा रु तीन करोड ४३ लाख १४ हजार १४९ मूल्य बराबरको औषधि बिक्री गरेको छ ।
समितिको तेइसौँ वार्षिकोत्सव एवम् राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समितिले सो जानकारी दिइएको हो ।
रु पाँच करोडको बिक्री लक्ष्य राखिएको भएपनि समितिले औषधिको उचित बजार व्यवस्थापन गर्न नसक्दा अपेक्षाकृत बिक्री गर्न नसकेको जनाएको छ ।
समितिका प्रबन्ध निर्देशक डा राजेन्द्रकुमार गिरीले आयुर्वेद औषधिको गुणस्तर र कच्चा जडिबुटीको गुणस्तर परीक्षणको कार्यविधि नभएकाले समस्या परेको उल्लेख गर्दै गुण्स्तरीय औषधिका लागि जडिबुटीको व्यवसायिक खेती आवश्यक भएको बताए ।
औषधि आपूर्ति, उत्पादन व्यवस्थापन, मानव संशाधन व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्दै आगामी चालु आवमा रु पाँच करोडको औषधि बिक्री गर्ने लक्ष्य समितिले लिएको छ ।
सम्पर्क इमेल : [email protected]