निर्देशकको पदावधी नथप्न भन्दै कर्मचारीबाटै शुरु भयो हस्ताक्षर अभियान

काठमाडौँ, ३० असोज । स्वास्थ्य मन्त्रालयले आफ्ना निर्देशक प्राडा सुरेन्द्र शेरचनको पदावधी लम्ब्याउन खोजेको भन्दै पाटनस्थित मानसिक अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले निर्देशकको पदावधी लम्ब्याउने प्रयासबिरुद्ध हस्ताक्षर अभियान नै सञ्चालन गरेका छन् ।

डा. शेरचनको आगामी १५ मंसिरमा अनिवार्य अबकाश हुँदैछ । तर डा। शेरचनले आफ्नो सेवा अबधी केही बढाउन मन्त्रालयसंग अनुरोध गरेका छन् ।

स्वास्थ्य ऐन तथा परिमार्जिन निजामति ऐनले समेत यदि कुनै व्यक्तिको विशेषज्ञता नेपाल सरकारको लागि जरुरी भन्ने महसुश भएमा नेपाल सरकारले केही समयका लागि म्याद थप गर्न सकिने प्रावधान राखेको छ । डा. शेरचनले सोही व्यवस्थालाई टेकेर आफ्नो पदावधी लम्ब्याउन लागेका हुन् ।

अस्पतालका चिकित्सक तथा कर्मचारीले भने डा शेरचन पटक पटक विवादमा मुछिएको, निर्देशकीय भूमिका चलाउन नसकेको र लामो समय देखि एउटै पोष्टमा रहेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सक तथा कर्मचारी गरी करीब ८० जना रहेको त्यस अस्पतालका ६३ जना चिकित्सक तथा कर्मचारीले पदावधी थप्ने भन्ने सरकारको तयारीको विरोध गर्दै हस्ताक्षर कार्यक्रम अघि बढाएका छन् ।

‘उहाँ निर्देशक भएको ९ बर्ष वित्यो । तर परफरमेन्स त्यति देखिएन । बरु बेला बेलामा विवादमा तानिनु भयो नतिजा उत्कृष्ठ कहिल्यै भएन । र अहिले उहाँकैलेभल ( ११ औँ तह)का अरु पनि चिकित्सक हुनुहुन्छ र उहाँ भन्दा उत्कृष्ठ समेत हुनुहुन्छ । त्यसैले उहाँको आवश्यक अहिले छैन’  एक चिकित्सकले भने, ‘त्यसैको विरुद्धमा हामीले हस्ताक्षर संकलन गरेका हौँ ।’

मानसिक अस्पतालमा अहिले शेरचनकै तहका (११औँ) डा. अनन्त अधिकारी र डा. मोहनराज श्रेष्ठ छन् । ‘अब पालो उहाँहरुको हो’ ती डाक्टरले भने ।

स्रोतका अनुसार सेवा अवधी बढाउन भन्दै स्वास्थ्य मन्त्रालयमा पठाएको फाइल अहिले स्वास्थ्य मन्त्रीकहाँबाट स्वास्थ्य सचिव डा. किरण रेग्मीको टेवलमा पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *