एमबीबीएस प्रवेश परीक्षामा चिट चोरी पक्राउ पर्ने ११ पुगे (सूची सहित)
काठमाडौँ, २८ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले आज सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा अबान्चित गतिविधि गर्ने ११ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा केही नक्कली परीक्षार्थी बनी परीक्षा दिएका, इलेक्ट्रोनिक कम्युनिकेशन डिभाइसको सहायताले परीक्षा दिएका तथा केही तिनीहरुलाई सहयोग गर्नेहरु छन् ।
परीक्षाको मर्यादा योजनाबद्ध ढंगले उलंगन गरिदैछ भन्ने गोप्य सूचना पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबी, महानगरीय अपराध महाशाखा टेकु, नेपाल मेडिकल काउन्सिल सहितको टोलीले आज विहान संयुक्त रुपमा परीक्षा केन्द्रको निरीक्षण गरेका थिए ।
सोही क्रममा केही विद्यार्थी तथा तिनका सहयोगी पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाका एसपी दिवेश लोहनीले एमबीबीएसको परीक्षामा नक्कली परीक्षार्थी बन्ने तथा अत्याधुनिक उपकरणको सहायतमा चिटिङ गर्ने नौलो तरिका प्रयोग गरेको भन्दै यसको सञ्जाल ठूलो रहेको बताए ।उनले यसबारे प्रहरीको दुबै निकायले समन्वयात्मक रुपमा छानवीनलाई अघी बढाएको बताए ।
आजको परीक्षामा अरुणिमा माध्यमिक विद्यालय बौद्य केन्द्रबाट राहुलकुमार झा, सक्षमराज भण्डारी र शिखा झालाई इलेक्ट्रोनिक मोवाइल डिभाईस प्रयोग गरी परीक्षा दिइरहेको अवस्थामा परीक्षाकेन्द्रबाट पक्राउ गरेको छ ।
यता प्रहरीले बाग्मती बोर्डिङ स्कुल सुकेधाराबाट नक्कली परीक्षार्थी ज्ञानेन्द्र ठाकुर र उनलाई सहयोग गर्ने सञ्जयकुमार यादवलाई पक्राउ गरेको छ । त्यस्तै राजिवकुमार सिंहलाई पनि परीक्षाको मर्यादा भंग गर्ने कार्यमा सम्लग्न भएको अवस्थामा इलेक्ट्रोनिक डिभाइस सहित पक्राउ गरेको छ ।
त्यस्तै मर्यादा भंग गर्ने कार्यमा रहेका शैलेशकुमार झा, मुकेश राय, आशुतोष झा, हिरेन्द्र शर्मा र अजयकुमार यादवलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको एसपी लोहनीले बताए । उनले पक्राउ परेका सबैलाई शिक्षा ऐन २०२८ अन्तरगत परीक्षाको मर्यादा भंग हुने कार्य गरेको आरोपमा अनुसन्धान अघि बढाएको बताए ।
आइओएममा डीनको फितलो काम स्रोतका अनुसार आइओएमका डीन प्राडा जगदीश अग्रवाललाई आजको परीक्षामा व्यापक रुपमा मंर्यादा भंग हुने काम हुँदैछ भनेर हिजो नै जानकारी आएको थियो । तर उनले त्यसलाई रोक्ने तर्फ कुनै कदम चालेनन् ।
परीक्षामा यति ठूलो संख्यामा नक्कली परीक्षार्थी तथा अनियमित ढंगले परीक्षा दिइरहेका भेटिँदा समेत उनी मौन छन् । बरिष्ठताको कोटाबाट डीनमा नियुक्त भए यता प्राडा अग्रवालको कार्य अपेक्षाकृत सन्तोषजनक छैन ।
अनियमित रुपमा विद्यार्थी भर्ना गर्ने , पीजीमा आरक्षण लागू गर्ने उनका निर्णय विरुद्ध आइओएमका विद्यार्थीहरुले नै उनी विरुद्ध आन्दोलन छेडिसकेका थिए । उनको नियुक्ति डा गोविन्द केसीको अनसनसंग समेत जोडिएका कारण उनको खुलेर विरोध गर्न सकेका छैनन् ।
‘उनको कार्यशैली अपेक्षाकृत सन्तोषजनक भएन । यसमा त डा केसी पनि सन्तुष्ट हुनुहुन्न होला तर के गर्ने आफैले लडेर ल्याएको व्यक्ति परे । जे गरेपनि मौन बस्नुपर्ने बाध्यता छ समर्थकलाई’ एक प्राध्यापकले भने ।
यसरी ठूलो गिरोहले चिटिङ गरी परीक्षा पास गर्ने र डाक्टर बने भने उनीहरु नक्कली कि सक्कली उनले भने ।सीआईबीले गतवर्ष यसै गरी अप्रेशन क्वाक सञ्चालन गरी नक्कली सर्टिफिकेटको छानवीन गरेको थियो ।
तर त्यतिवेला सीआइबी तथा काउन्सिलको कदमको चिकित्सकहरुका केही अगुवाहरुले विरोध गरेका थिए । पछि अदालतले समेत उनीहरुलाई सफाई दिएको थियो ।
यी हुन् एमबीबीएस परीक्षाका क्रममा आज पक्राउ परेका ११ जना
सम्पर्क इमेल : [email protected]