‘अक्टोबर’ महिनाभर स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिने

काठमाडौँ, २५ असोज । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाउने भएको छ । “स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान गरे निको हुन सक्छ” भन्ने नारालाई आम जनमानसमा पुरयाउन हस्पिटलले महिना भर विविध कार्यक्रम गर्ने तालिका सार्वजनिक गरेको छ ।

अस्पतालद्धारा आज आयोजित कार्यक्रममा निर्देशक डा. सुदिप श्रेष्ठले क्यान्सर रोगको समयमै पहिचान नहुँदा धेरै महिलाको ज्यान जाने गरेको भन्दै त्यसका लागि सचेतनाको जरुरी रहेको बताए । उनले क्यान्सरको लक्षण थाह नहुँदा सामान्य परीक्षण नगर्दा नेपाली महिलाहरु अन्तिमस्टेजमा आउने गरेको भन्दै यसले रोग निको हुने दरमा कमि भएको बताए ।

‘विकसित देशमा स्तन क्यान्सर ६० बर्षको हाराहारीमा देखिन्छ तर नेपालमा आधा भन्दा बढी क्यान्सर ५० बर्ष नपुग्दै देखिएको छ । त्यस्तै विकसित देशमा स्तन क्यान्सर प्रारम्भिक अवस्थामा नै थाह हुने गरेको छ तर हामी कहाँ अन्तिम स्टेजमा मात्रै अस्पतालमा आएको पाइन्छ । यसले रोग निको हुने दरमा समस्या थपेको छ,’ डा. श्रेष्ठले भने ।

नेपालमा पाठेघरको मुखको क्यान्सर पछि महिलाहरुमा सबैभन्दा बढी हुने स्तन क्यान्सर हो । हरेक बर्ष लगभग पाँच हजार नेपाली महिलालाई स्तन क्यान्सर हुने गरेको अनुमान छ ।

यसैबीच अस्पतालले आउँदा १४ अक्टोबर शनिबारका दिन दरबारमार्ग देखि माइतिघर मण्डलासम्म स्तन क्यान्सर सचेतना मूलक पदयात्रा गर्ने, १६ अक्टोबर सोमबार नेपाल क्यान्सर हस्पिटलमा स्तन क्यान्सर जितेका महिलाहरुको भेला गर्ने कार्यक्रम राखेको छ ।

त्यस्तै ७, १४ र २८ अक्टोबर शनिबारका दिन स्तन क्यान्सर सम्वन्धी निशुल्क परामर्स तथा ओपिडी सेवा दिने, ११ र १२ अक्टोबर बुधबार र विहीबार स्तन क्यान्सरबारे जनचेतना फैलाउन पाटन, पाटन र भक्तपुर दरबार स्क्वायरमा डबली नाच प्रस्तुत गर्ने र अक्टोबर महिना देखि नोभेम्बर ८ तारिखसम्म स्तन क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत छुट दिने कार्यक्रम सार्वजनिक गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *