सांसद विकास कोषकाे पैसाले एम्बुलेन्स खरिद
अछाम, १७ असोज । सांसद जानकी साउद रावलले दुर्गम गाउँका लागि नयाँ एम्बुलेन्स खरिद गरेकी छन् ।
रामारोशन गाउँपालिकास्थित भटाकाँटिया स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गरिएको सांसद रावलले जानकारी दिइन ।
अछामका दुर्गम ठाउँका बिरामीलाई स्वास्थ्य संस्थाले अन्यत्र उपचारका लागि सिफारिस गर्दा उपचार गर्न डोको तथा बोकेर लानुपर्ने समस्या समाधान होस् भन्ने उद्देश्यले एम्बुलेन्स ल्याइएको उनले बताइन ।
उनले भनिन, “आर्थिक वर्ष २०७३/७४ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत एम्बुलेन्स खरिद गरिएको हो, एम्बुलेन्स अछाम पुगिसकेको छ अब केही दिनमै एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने छ ।
उनले आव २०७१/७२ मा सांसद विकास कोषबाट स्वास्थ्य चौकी विनायकलाई एम्बुलेन्स उपलब्ध गराएकी हुन ।
अछामको पूर्वी क्षेत्रमा एम्बुलेन्स सेवा शुरु भएपछि त्यहाँका बिरामीले जिल्ला अस्पताल अछाम, बयालपाटा अस्पताल, धनगढी, सुर्खेत, नेपालगञ्ज, काठमाडौँ र भारतसम्म सजिलै जान पाएका छन् ।
अछाममा सबैभन्दा बढी महिलाले स्वास्थ्य समस्या भोग्नुपरेकाले सुत्केरी हुन नसकेर उपचारका लागि अन्यत्र सिफारिस भएका महिला तथा आपत्कालीन समस्यामा परेका जनतालाई एम्बुलेन्सबाट धेरै राहत पुग्नेछ । रामारोशन सांसद रावलको जन्म गाउँसमेत हो । रासस
सम्पर्क इमेल : [email protected]