ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रले शुरु गरयो एम्बुलेन्स सेवा
पर्वत, १३ असोज । कुश्मा नगरपालिका–१४ स्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सञ्चालन भएको छ ।
सांसद विकास लम्सालले बिहीबार स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कुमार सुवेदीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दैै सेवा शुभारम्भ गरेका हुन् । निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत आव ०७३÷७४ को बजेटमार्फत सांसद लम्सालले रु १० लाख उपलब्ध गराएपछि उनकै पहलमा एम्बुलेन्स भित्रिएको हो ।
एम्बुलेन्स सेवा नहुँदा लामो समयदेखि समस्या झेल्दै आएका ठूलीपोखरीलगायत आसपासका खौलालाकुरी, आर्थरडाँडाखर्क, पकुवा, कार्किनेटालगायतका बासिन्दा बढी मात्रामा लाभान्वित हुने भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा सबैखाले उपचार सेवा नहुँदा रिफर गर्नुपर्ने बिरामीले सास्ती खेप्दै आएका थिए ।
सो अवसरमा सांसद लम्सालले गाउँको विकासनिर्माणमा स्थानीयवासीकै सक्रियता महत्वपूर्ण हुने बताउँदै सडक सुविधा जिल्लाभरि नै पुगे पनि बाह्रैमास सञ्चालन हुने गरीसबै सडक कालोपत्रे गर्ने अभियानमा आफू जुटेको जानकारी दिए ।
कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिनाले आफू जिल्ला विकास समितिको सभापति रहेकै बेला जिल्लाको भाग्यरेखा कोरिएको बताउँदै नागरिकमा चेतनाको विकाससँगै गरिबी निवारण पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेलले आफूले सात वटै तहबीच समन्वय गरेर प्रत्येक तहलाई समृद्ध बनाउन पहल गरेको बताए ।
सम्पर्क इमेल : [email protected]