चिकित्सक आन्दोलनबारे छलफल गर्न सञ्चारमन्त्री स्वास्थ्य मन्त्रालयमा
काठमाडौँ, ६ असोज । मन्त्रिपरिषद्को निर्णय र चिकित्सकका मागका विषयमा छलफल गर्न सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्रालय आएका छन् ।
स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको आग्रह पछि सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री बस्नेत छलफलका लागि स्वास्थ्यमा आएका हुन् ।
अहिले स्वास्थ्य मन्त्री पोखरेल, सञ्चार मन्त्री बस्नेत स्वास्थ्य सचिव डा. किरण रेग्मी लगायतको टोलीले चिकित्सकको मागका विषयमा छलफल गर्दैछ ।
यसअघि आजै सरकारले चिकित्सकलाई क्षतिपूर्ति भराउने भनिएको विवादास्पद निर्णय सार्वजनिक गरेको थियो । आज सार्वजनिक गरिएको निर्णय र २ असोजमा सञ्चार मन्त्रीले बोलेको कुरा फरक परेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम यथावत राख्ने बताएको छ । उसले क्षतिपूर्तिका कुराहरुमा अहिले संसोधन गरेर आएपनि जेल विथ आउट बीलको कुरा सम्वोधन नभएको भन्दै आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।
एनएमएका महासचिव डा लोचन कार्की भन्छन्, ‘सरकारले चिकित्सकलाई अपमान गर्ने गरी एक पछि अर्को निर्णय गर्दै आइरहेको छ । त्यसैले यसपटक अन्तिम लडाई लड्दै छौँ । क्षतिपूर्तिको विषय सच्चिएर आएपनि जेल वीथआउट बील आइसकेको छैन । त्यसैले आन्दोलन जारी छ ।’
यता स्वास्थ्य मन्त्री पोखरेलले डाक्टरहरु सशंकित हुनुपर्ने कुनै निर्णय नभएको भन्दै आन्दोलन फिर्ता लिई काम गर्न आग्रह गरेका छन् ।
सम्पर्क इमेल : [email protected]