मेडिकल काउन्सिलको निर्वाचन सम्पन्न, ७ हजार ७५ भोट खस्यो
काठमाडौँ, ३१ भदौ । गत २३ भदौ देखि शुरु भएको नेपाल मेडिकल काउन्सिलको निर्वाचन आज सकिएको छ ।
प्रारम्भिक विवरण अनुसार उपत्यकाका दुई मतदान केन्द्रमा तीन दिनसम्म भएको मतदान प्रक्रियामा ३ हजार ५१३ भोट खसेको छ । गत २३ भदौमै सम्पन्न उपत्यका बाहिरको १६ वटा मतदान केन्द्रमा भने ३ हजार ५६२ भोट खसेको थियो ।
नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिदै मतगणना भोलि विहान ९ बजे देखि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा शुरु हुने बताए ।
मतदानमा चिकित्सकको उत्साहमा कमी ?
काउन्सिलको अघिल्ला निर्वाचनमा भन्दा यसपटक मतदाताको उत्साहमा कमि आएको पाइयो । २० हजार बढी लाइसेन्स प्राप्त चिकित्सकले भोट हाल्न पाउने भएपनि प्रारम्भिक नतिजाले ३५ प्रतिशतको हाराहारीमा भोट खसेको देखाएको छ ।
मतदातामा मात्रै होइन अघिल्ला चुनावको तुलनामा यसपटक उम्मेदवारीको रौनक पनि घटेको पाइएको छ । अघिल्ला चुनावमा ४० ४५ जनाको उम्मेदवारी पर्ने गरेकोमा यसपटक कुल २७ जनाले उम्मेदवारी दिएका थिए ।
उपत्यका बाहिर भन्दा उपत्यकामा दुई गुना बढि चिकित्सक भएको अनुमान गरिएपनि मतदान गर्ने बेलामा बाहिर भन्दा कमी देखिएको छ ।
सम्पर्क इमेल : [email protected]