झारफुक गर्न आएका रोगीलाई अस्पताल पठाइदिन आग्रह
झापा, ३१ भदौ । धामीझाँक्रीको भरमा परेर अझैपनि गाउँदेखि सहरसम्मका अधिकांश मानिसले मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाउने गरेका छन् ।
चेतना अभावका कारण मोतियाविन्दु भएपछि झारफुक गर्न धाँमीझाक्री कहाँ जाँदा उपचार नपाएर उनीहरुले आँखाको ज्योति गुमाउने गरेका हुन् ।
मोतिविन्दु भएर आँखा पाकिसकेपछि मात्र उपचारका लागि अस्पताल आउने परिपाटी बढेपछि मेची आँखा अस्पताल विर्तामोडले जिल्लाभरिका धाँमीझाक्रीलाई आँखा स्वास्थ्य सम्बन्धी तालीम प्रदान गरेको छ । तालीममा सय वर्षीय वृद्धसहित ५१ जना धाँमीझाक्री सहभागी भएको मेची आँखा अस्पताल बिर्तामोडका प्रशासकीय अधिकृत सुरज रौनियारले जानकारी दिए।
तालीममा उनीहरुलाई अन्धोपन निवारणका लागि गर्न सकिने उपायका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालीमको सहजीकरण युवराज बोहोराले गर्नुभएको थियो । तालीममा आँखाको बनावट, कार्य, लाग्ने सामान्य रोग, आपतकालीन अवस्था तथा ‘रिफरल नेटवर्क’को बारेमा जानकारी दिइएको थियो ।
अस्पतालका डेप्युटी मेडिकल डाइरेक्टर डा प्रभा सुवेदी बस्नेत, प्रशासकीय अधिकृत सुरज रौनियार, नेत्र अधिकृत मेमलाल राजवंशीलगायतले परम्परागत झारफूक पद्धति र जडीबुटीको सेवनले आँखाका कुनै पनि रोग निको नहुने भन्दै धामीझाँक्री कहाँ कोही आँखाका रोगी आए सबै आँखाका बिरामीलाई अस्पताल पठाइदिन आग्रह गरेका थिए । रासस
सम्पर्क इमेल : [email protected]