सगरमाथा अञ्चल अस्पतालमा बिरामीको चाप बढ्दै
राजविराज, २७ भदौ । वर्षा र बाढीपछि विगत एक सातादेखि बढेको गर्मीका कारण यहाँ विभिन्न रोगको संक्रमणका बिरामी बढ्दै गएका छन् ।
केही दिनदेखि बढेको गर्मीका कारण सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विभिन्न रोगका संक्रमित बिरामीको चाप बढेको छ ।
सो अस्पतालमा आजभोलि भाइरल ज्वरो, ज्वरो, झाडापखाला, रुघाखोकी र सर्पदंशलगायतका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
गर्मी बढेसँगै अञ्चल अस्पतालमा दैनिक ८० देखि ९० जनासम्मका विभिन्न रोगका बिरामी आउने गरेको अस्पतालबाट थाहा भएको छ ।
पच्चीस शय्याको सो अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पतालमा शय्याको समेत अभाव भएको बताइएको छ ।
शय्याको अभाव भएपछि अधिकांश बिरामीलाई भुँइमै राखेर उपचार गराउन बाध्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।
गर्मी बढेसँगै जिल्लामा रहेका एक सरकारी अस्पतालसहित, चार स्वास्थ्य केन्द्र र १११ वटा स्वास्थ्य चौकीमा समेत भाइरल ज्वरो तथा टाइफाइडका बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।
त्यस्तै, जिल्लाका निजी अस्पतालमा समेत भाइरल ज्वरो, झाडापखाला, रुघाखोकीका बिरामी उपचारका लागि भर्ना भएको पाइएको छ । रासस
सम्पर्क इमेल : [email protected]
राज्यले उपेक्षा गरेको अस्पताल हो यो
बिरामीको अत्यधिक चाप हुन्छ यहाँ
कम्तिमा २०० बेडको ब्यबस्था हुनुपर्छ