बैतडीको तल्लोस्वराडमा औलोको जोखिम, ६७ नयाँ बिरामी फेला
बैतडी, २२ भदौ । बैतडीको तल्लोस्वराडमा औलोरोगको जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकोे छ ।
स्वास्थ्य सेवा विभागको महामारी तथा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनअनुसार साविकका मेलौली, शिवनाथ र महारुद्र गाविस औलो जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका महामारी नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति सन्तोष पाण्डेयले जानकारी दिए । खुला सिमाना, तापक्रममा वृद्धि र लामखुट्टेका कारण सो क्षेत्र बढी जोखिममा परेको पाइएको हो ।
सो क्षेत्रका नागरिकमा गत वर्ष औलो देखिएपछि औलोको जोखिमका विषयमा अध्ययन गरिएको थियो । बैतडी जिल्ला औलो न्यून जोखिम भएको जिल्ला भएपनि मेलौली नगरपालिकाको मेलौली र महारुद्र तथा शिवनाथ गाउँपालिकाका केही वडा औलोको उच्च जोखिममा रहेका छन्, उनले भने, “औलोको जोखिम बढी भएका ठाउँमा लामखुट्टे मार्ने औषधि समेत स्प्रे गरिएको छ ।”
औलोको जोखिम रहेका ठाउँमा औषधि स्प्रे गर्नुका साथै जोखिम बढी रहेका केही वडामा झुल वितरण गर्ने कार्य भइरहेको समेत उनले बताए । एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने गर्दछ ।
बैतडीमा गत आर्थिक वर्ष २०७३÷७४ मा ६७ जना औलोका नयाँ बिरामी फेला परेका छन् । आव २०७२÷७३ मा ३९ जना औलो रोगी फेला परेका थिए । फाट्टफुट्ट रुपमा जिल्ला भरनै औलोका बिरामी रहेको भए पनि तल्लोस्वराडको शिवनाथ, महारुद्र, मेलौली, पञ्चेश्वरलगायतका ठाउँमा धेरै औलोका बिरामी भेटिएका हुन् ।
बैतडीसँगै प्रदेश नम्बर ७ को कैलाली, कञ्चनपुर, डडेल्धुरा पनि औलोको उच्च जोखिममा रहेको एक सर्वेक्षणको दाबी छ । औलो रोग लागेमा उच्च ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी आउने तथा समयमा उपचार हुन नसके बिरामीको मृत्युसम्म हुनसक्ने भएकाले समयमै सचेत रहन पनि जिल्ला स्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ ।
यस्ता लक्षण देखिएमा अनिवार्यरुपमा नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गराउन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको हो । लामखुट्टे हुर्कन सक्ने खालको वातावरण हुँदा पहाडी क्षेत्रमा समेत औलोको जोखिम बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए ।
आफ्नो शरीरमा औलोको संक्रमण जान्न रक्त परीक्षण अनिवार्य भएको भन्दै डाक्टर अवस्थीले स्वास्थ्य संस्थामा गई निःशुल्क रक्त परीक्षणका गराउनसमेत आग्रह गरे ।
स्वास्थ्यकर्मीका अनुसार एनोफिलिस जातको संक्रमित पोथी लामखुट्टेले टोकेर एक मान्छेबाट अर्को मान्छेमा रोग सार्ने गर्दछ । औलो रोग रोकथामका लागि सुत्दाखेरी झुलको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने, घर वरिपरि भएका पानीका खाल्डाखुल्डी पुर्नुपर्दछ ।
सरकारले औलो कार्यक्रमको रणनीतिक योजना सन् २०१४–२०२५ अनुसार सन् २०२६ भित्रै राष्ट्रलाई औलो उन्मूलन क्षेत्र घोषणा गर्ने रणनीति तयार पारिसकेकोे छ । सरकारले रणनीतिअनुसार औलो प्रभावित क्षेत्रलाई सन् २०१८ भित्र शून्यमा झार्ने लक्ष्य लिएको छ । रासस
सम्पर्क इमेल : [email protected]