त्रिवि शिक्षण अस्पतालको बर्थिङ सेन्टरमा लामखुट्टेको विगविगी
काठमाडौँ, २० भदौ । सुत्केरी सहित भर्खरै जन्मेका नवजात शिशुहरु सानो झुल भित्र राखिएको देख्दा तराई क्षेत्रको अस्पताल हो कि भन्ने भान हुन्छ । तर होइन यो त देशकै सबैभन्दा ठूलो त्रिवि शिक्षण अस्पताल हो । त्यो पनि राजधानीको ।
भर्खरै जन्मेका नवजात शिशु राखिने त्रिवि शिक्षण अस्पतालको मंगलादेवी बर्थिङ सेन्टरमा लामखुट्टेको विगविगी बढेको छ । लामखुट्टेबाट जोगाउन सबै नवजात शिशुलाई बेलुका पख झुल भित्र राखिन्छ । ‘झुल अनिवार्य त होइन तर लामखुट्टेको धेरै नै विगविगी छ जोगाउन नभई पनि भएन,’ नर्स विना न्यौपानेले बताइन ।
मंगलादेवी बर्थिङ सेन्टर अस्पतालको कान्छो सेन्टर हो । तुलनात्मक यो सेन्टर अन्यत्रका वार्ड भन्दा राम्रो छ । तर लामखुट्टेको विगविगी अति छ । ‘शिशुलाई त सानो झुलले शिशु त ढाकिने भयो तर सुत्केरीलाई अहिले पनि समस्या परेको छ,’ सुत्केरी र नवजात शिशु कुर्दै बसेका काभ्रेका सन्तोष लामाले बताए ।
अस्पतालका निर्देशक डा दीपक महराले भने कहिले काँही लामखुट्टे लाग्नुलाई सामान्यरुपमा लिनुपर्ने बताए ।
लामुखुट्टे मात्रै होइन त्रिवि शिक्षण अस्तालमा बेला बेलामा उड्स र सांङलाको समेत विगविगी बढ्ने गरेको छ । अस्पताल परिसरमा राम्ररी सरसफाई गरे सजिलै हराउने लामखुट्टेले यसबेला अस्पतालको सरसफाईमा देखिएको कमी समेत दर्शाइदिएको छ ।
सम्पर्क इमेल : [email protected]