आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. ज्ञवाली, एक भोटले भयो हारजित
काठमाडौँ, १८ भदौ । नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा प्रकाश ज्ञवाली विजयी भएका छन् । दुई बर्षे कार्यकालका लागि हिजो सम्पन्न निर्वाचनमा उनले डा सुरेन्द्र रायलाई एक भोटले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
डा ज्ञवालीले १०३ मत र डा रायले १०२ मत ल्याएका थिए । डा ज्ञवाली नेका माओवादी आवद्ध चिकित्सकहरुले गठन गरेको संयुक्त प्यानलबाट उठेका थिए भने डा राय एमाले र कांग्रेसकै विद्रोही समूहले गठन गरेको समावेसी प्यानलबाट उम्मेदवारी दिएका थिए ।
कुल २३ सदस्यीय कार्यसमितिमा २२ जना निर्वाचनबाट छनौट हुन्छन् । निवर्तमान अध्यक्ष नयाँ कार्यकालका लागि स्वतह सदस्यमा रहने चलन छ ।
हिजो सम्पन्न निर्वाचनमा अध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्ष सहित ११ पदमा कांगे्रस माके गठबन्धन विजयी भएको छ । त्यस्तै बरिष्ठ उपाध्यक्ष, महासचिव र सचिव सहित ११ सीटमा एमाले गठबन्धनले विजयी हासिल गरेको छ ।
यसपटकको निर्वाचनमा कांग्रेस गठबन्धनले अध्यक्ष र महिला उपाध्यक्ष पदमा एमाले गठबन्धनलाई एक भोटले पछि पार्दे जित हासिल गरेको छ ।
निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा समावेसी समूहका डा सवरी साह विजयी भएका छन् । महिला उपाध्यक्षमा समावेशी प्यानलका डा सुमना थासेनेकुलाई एक भोटले हराउँदै संयुक्त प्यानलका डा काशी खतिवडा विजयी भएकी छन् ।
महासचिवमा डा मनोजकुमार चौधरी र सचिवमा डा नरेन्द्र गिरी निर्वाचित भएका छन् । यी दुवै समावेसी प्यानलका उम्मेदवार हुन् । कोषाध्यक्षमा भने संयुक्त प्यानलका डा बुद्धि पौडेल निर्वाचित भएका छन् ।
त्यस्तै समावेसी प्यानलबाट प्रदेश नं २, ६ र ७ बाट क्रमश डा विनोद यादव डा भक्तबहादुर केसी र डा खगेन्द्रबहादुर बम निर्वाचित भएका छन् । डा केसी र डा बम निर्विरोध निर्वाचित भएका हुन् । उता संयुक्त प्यानलका तर्फबाट डा सुरज कर्माचार्य प्रदेश नं १, डा बैकुण्ठ सुवेदी प्रदेश नं ३, डा संजित सापकोटा प्रदेश नं ४ र डा सन्तोष शर्मा प्रदेश नं ५ बाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै महिला सदस्यमा डा सृजना श्रेष्ठ, सदस्यमा डा सरोजप्रसाद विसाल, डा राजिब घिमिरे र डा लोकेश कर्ण समेत समावेसी समूहबाट निर्वाचित भएका छन् । यता डा बिजयकुमार सिंह, डा शिवनारायण गुप्ता, डा नदन कंडेल, डा नारायण पाण्डे र डा केनीन राई संयुक्त प्यानलबाट बिजयी भएका छन् ।
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका आयुर्वेद चिकित्सकको संख्या ५४८ भएपनि आयुर्वेद चिकित्सक संघमा आवद्ध सदस्य संख्या २२७ मात्रै रहेको छ । त्यसमध्ये २१० जनाले निर्वाचनमा सहभागिता जनाएका थिए ।
नयाँ नेतृत्व छान्ने गरी शुक्रबारदेखि राजधानीमा जारी नेपाल आयुर्वेद चिकित्सक संघको नवौ अधिवेशनको उद्घाटन सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले गरेका थिए ।
यी हुन नबनिर्वाचित पदाधिकारीहरु :
सम्पर्क इमेल : [email protected]