औषधिसहित स्वास्थ्यकर्मीको टोली भाइरल प्रभावित क्षेत्रमा
जाजरकोट, भदौ १६ गते । जाजरकोटका विभिन्न क्षेत्रमा फैलिएको भाइरल ज्वरोको प्रकोपको समाचार प्रकाशित भएपछि बिहीबार दिउँसो औषधि र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ लागेको छ । जिल्लाका त्रिवेणी नलगाड–५ मा बढी सङ्क्रमण भएका कारण सोतर्फ पहिलो चरणको उपचार शुरु हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटीका सदस्य प्रशान्त शर्माको नेतृत्वमा स्वास्थ्यकर्मीहरु भण्डारीगाउँ, मुली, पोख्रालगायत गाउँमा गएको छ । टोली आज बिहानसम्म पुग्ने शर्माले बताए । बाटो विकट भएका कारण रोग प्रभावित क्षेत्रमा जान समस्या भएको शर्माले बताए ।
पहिलो चरणमा अत्यावश्यकीय सेवा दिने र अवस्था हेरेर थप सेवा उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटका रामबहादुर थापाले बताए ।
प्रभावित क्षेत्रको अवस्थाको सही जानकारी लिएर केन्द्रबाट थप जनशक्ति परिचालन गरिने पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले राससलाई बताए । एक गाडी औषधि र पाँचजना स्वास्थ्यकर्मी पहिलो चरणमा पठाइएको छ । रासस
सम्पर्क इमेल : [email protected]