विशेषज्ञ चिकित्सक सहितको एनएमसीको टोली बाढी प्रभावित क्षेत्र सप्तरीमा

राजविराज, १३ भदौ । बाढी प्रभावित क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिन नेपाल मेडिकल कलेज (एनएमसी)ले सप्तरीमा बृहत एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एनएमसीका अध्यक्ष एवं बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल नेतृत्वको ३५ जनाको टोलीले शिविर मार्फत स्वास्थ्य सेवा प्रदान गरेको हो ।

गत असारको अन्तिम साता परेको अविरल बर्षाबाट आएको बाढीले तराईका विभिन्न जिल्ला डुवानमा परेको थियो । डुबान पछि हुनसक्ने स्वास्थ्य जोखिम न्युनिकरण गर्न एनएमसीले निशुल्क स्वास्थ्य शिविर गरेको टोलीको नेतृत्व गरेका डा रिजालले बताए ।

उनले नागरिकहरुमा जनचेतनाको कमि भएका कारण स्वास्थ्यमा समस्या देखिनसक्ने भन्दै शिविरसंगै जनचेतना जगाउने काम समेत भइरहेको बताए । बाढी प्रभावितलाई ज्वरो आउने, टाउको दुख्ने, खोकि, छाति दुख्ने, छालाको समस्या, जोर्नि, आँखा पोल्ने, झाडापखाला जस्ता समस्या देखिएका छन् ।

डा रिजालले बाढी प्रभावितले सामान्य जानकारी मात्रै लिएको खण्डमा पनि समस्या नआउने भन्दै तराईको पछिल्लो समस्या असुद्ध पानी नै रहेको बताए । स्वास्थ्य शिविरमा पनि छालाको समस्या र बच्चाको उपचारलाई प्राथमिकता दिएको छ ।

एनएमसी काठमाडौँबाट बाढी प्रभावितको स्वास्थ्य परीक्षण तथा उपचार गर्न विशेषज्ञ सहित ३५ जना स्वास्थ्यकर्मीको टोली हिजो सप्तरी आएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *