तराईका दलित बस्तीमा बाढी पीडितको उपचार गर्दै डा. केसी
काठमाडौँ, ९ भदौ । अनसन भर्खरै तंग्रिएका डा. गोविन्द केसी तराईका बाढी पीडितको उपचारमा कस्सिएर लागेका छन् । अस्पतालबाट अस्ति भर्खर डिस्चार्ज भई हिजो विहानै सप्तरी तर्फ हानिएका उनी आफ्ना सहयोगीका साथ पीडितहरुको उपचार र राहत वितरणमा खटिएका हुन् ।
आज मात्रै सप्तरीस्थित कन्चनपुर नगरपालिका – ७ मा रहेको स्वास्थ्य चौकीमा राखिएको स्वास्थ्य शिविरमा उनी सहित ७ जना स्वास्थ्यकर्मीहरु सहभागी थिए । उनीहरुले २५० भन्दा बढीको स्वास्थ्य परीक्षण गरेका थिए ।
डा. केसीको नेतृत्वमा अरु दुई जना डाक्टर र मेडिकल विद्यार्थी सहितको टोलीले बाढी प्रभावित क्षेत्रमा शिविर चलाएको हो । डा केसीको टोलीले खासगरी तराईका पिछडिएका दलितहरु चमार डोम तथा मुसहर जातीको बाहुल्यता भएको स्थानमा शिविर राखेको थियो । त्यहाँ टोलीले हाडजोर्नी, छाला सम्वन्धी, स्वास प्रश्वास, प्रसूति तथा स्त्रीरोग, पेट रोग तथा बालरोग सम्वन्धी परीक्षण साथै निशुल्क औषधि वितरण गरिएको थियो ।
परीक्षणका क्रममा सामान्य देखिएकाहरुलाई औषधि वितरण गर्ने र गम्भीर विरामी भएकाहरुलाई जनकपुर अञ्चल अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ ।
डा. केसीको टोलीले बाढी प्रभावित व्यक्तिहरुलाई खाद्यान्न तथा लत्ताकपडा समेत वितरण गरेका थिए । डा केसीको टोली भोली सोही नगरपालिका – १ को भैरहवामा पुगेर शिविर सञ्चालन गर्ने योजना छ । डा. केसीलाई सप्तरीमा स्थानीय प्रशासनले प्रहरी सुरक्षाको समेत प्रवन्ध मिलाएको छ ।
सम्पर्क इमेल : [email protected]