प्राकृतिक विपत्ती पछि आन्दोलन घोषणा गरेका चिकित्सक संगठनलाई आपत
काठमाडौँ, २८ साउन । डा. गोविन्द केसीको माग पुरा गर्न दवाव दिन नेपाल चिकित्सक संघले हिजोदेखि घोषणा गरेको आकस्मिक बाहेकका सेवामा सहभागी नहुने आन्दोलन संकटमा परेको छ । हिजोबाट परेको अविरल बर्षासंगै आएको बाढी पहिरोले तराई तथा पहाडको जनजीवन अस्तव्यस्त बनाएपछि आन्दोलन संकटमा परेको हो ।
बाढी प्रभावित क्षेत्रमा सक्रियताका साथ चिकित्सक तथा स्वास्थ्यकर्मीहरु खटिनुपर्ने अवस्था आएको छ । यस्तो बेलामा कसरी आन्दोलन गर्न मिल्ला ? स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले भने । उनले देशमा प्राकृतिक विपत्ति आएको भन्दै डा केसीलाई समेत अनसन स्थगित गरि सहयोग गर्न आग्रह गरेका छन् ।
मन्त्री पोखरेलको धारणामा चिकित्सक संघका महासचिव डा. लोचन कार्की समेत सहमत छन् । उनले समेत प्राकृतिक विपत्ती पछि आफूहरुको आन्दोलन यहि स्वरुपमा रहने कि बदल्ने भन्ने बारेमा छलफल सुरु गरेको सुनाए ।
‘हो अहिले अवस्था समान्य भएन । तराई सबै डुवानमा परे, धेरैको ज्यान गईसकेको छ । अव महामारी फैलनसक्ने उत्तिकै जोखिम छ । यो अवस्थामा हामी आन्दोलनमा यसैगरी रहन मिल्छ कि मिल्दैन वा विकल्प खोज्ने की ? भन्नेमा छौँ । भोली विहान बस्ने बैठकले त्यसबारेमा निर्णय गर्ला’ उनले भने । त्यसो त संघले विपत्तीको यो घडीमा आफ्नो आफ्नो ठाँउबाट सहयोग गर्न र उद्धार कार्यमा सहभागी हुन सदस्यहरुलाई आवहान गरिसकेको छ ।
यता सरकारी चिकित्सक संघ नेपाल गोदानले पनि प्राकृतिक विपत्ती पछि पूर्व घोषित आन्दोलनको स्वरुपमा केही परिवर्तन हुनसक्ने बताएको छ । उसले डा केसी र सरोकारवालाबीच आज बेलुका छलफल गरेपछि नयाँ निर्णय लिनसक्ने जानकारी दिएको छ । हामीले आज बेलुका डा केसीसंग भेटदैछौँ । त्यसपछि के गर्ने भन्ने निर्णय हुन्छ होला संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने । त्यसो त गोदानले पनि प्राकृतिक विपत्तिबाट पिडीत प्रति दुखव्यक्त गर्दै आफ्ना सदस्यहरुलाई उद्धार कार्यमा खटिन निर्देशन दिइसकेको छ । अध्यक्ष डा पाण्डेले बाढी पिडीतका लागि शिविर लिएर तराई झर्ने योजना रहेको समेत जानकारी दिए ।
उता डा केसी समेत सेवा ठप्प पार्ने चिकित्सक संगठनहरुको निर्णयको विरोधमा छन् । केसीपक्षबाट बार्तामा सहभागी डा अभिशेक राज सिंह भन्छन्, ‘उहाँले आफ्नो आन्दोलनलाई सपोर्ट गर्ने नाममा सेवा अवरुद्ध गर्ने कार्यको पक्षमा हुनुहुन्न । पहिले जस्तै अस्पतालहरुमा स्वास्थ्य सेवा निर्वाध चलोस भन्ने उहाँको मनसाय छ । हामीले आजै पनि संघका प्रतिनिधिहरुसंग भेटदै पनि छौँ । त्यतिवेला पनि यो कुरा रहन्छ । अझ अहिले त बाढीले बाताबरण थप असहज बनाएको छ,’ उनले भने ।
हिजो देखि परेको अविरल बर्षाले झण्डै तीन दर्जन बढीको ज्यान गईसकेको छ । दर्जनौँ वेपत्ता छन् । हजारौँ परिवार विस्तापित भएका छन् । बालबालिका र बृद्धबृद्धा बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । तराई क्षेत्रका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताल समेत डुवानमा परेका छन् ।
सम्पर्क इमेल : [email protected]