कस्ता हाकिम ! औषधिको मूल्य घटाउ भन्नुको साटो बढाएर बेच भन्ने ?

  • एउटा औषधि सप्लायर्स कम्पनीले हेपाटाइटिस सी रोग बिरुद्धको औषधि भारतबाट ल्याएर प्रतिबट्टा ३३ हजार ७३०  रुपैयाँमा बिक्री गर्छु भन्दै स्वीकृति माग्छ । अर्कोले २८ हजार रुपैयाँमा सोही औषधि दिन्छु निवेदन दिन्छ तर अन्तिम निर्णय लिने औषधि व्यवस्था विभागका महानिर्देशकले यसरी स्विकृति दिए कि ३३ हजार ७३० वालाले नै औषधि ल्याउनु तर मूल्य ४० हजार रुपैयाँमा पुरयाउनु ।

  • औषधि आयातकर्ताले विभागबाट लाइसेन्स लिएपछि मात्रै औषधि खरीदको अर्डर लिन सक्छ । तर हेपाटाइटिस सी आयात गर्न छनौट भएको कम्पनीले लाइसेन्स पाउनु भन्दा ६ महिना अघि नै औषधिको अर्डर गरिसकेको हुन्छ ।

  • औषधि खरीदको लाइसेन्स लिनका विभागमा निश्चत प्रक्रिया हुन्छ । गुणस्तर एकीन हुने डकुमेन्ट चाहिन्छ । जस्तो कि औषधिको नमूना, औषधी सेवन गर्दा हुनसक्ने असर आदि इत्यादि तर यो औषधि खरीदका लागि विभाग यति सजिलो भईदियो कि औषधि ल्याइहाल्नु आवश्यक डकुमेन्ट पछि पेश गर्नुहोला भन्दै स्विकृति दियो ।

  • कम मूल्यमा बेच्छु भन्दा भन्दै तोक्ने बढी मूल्यमा बेच्नु भनेर आदेश दिने हाकिमको निर्णय त एक महिना पछि सच्याइयो तर विक्रीका लागि स्वीकृृति पाएको नर्भिक हस्पिटल भने सच्चिन चाहेन उसले कसैलाई ३३ हजारमा बेचेको छ कसैलाई ३७ हजारसम्म ठटाईरहेको छ ।

  • तेस्रो मुलुकमा लैजान सके १० गुणा बढी फाइदा हुने यो औषधिको नेपालबाट दुरुपयोग भएको हुनसक्ने आशंका गरिएको छ । एक हजार बट्टा औषधि बिक्री गर्छु भन्दै जिम्मा पाएको नर्भिकले करीब डेढ सय बट्टा औषधि मात्रै विक्री गरेको भेटिएको छ । अरु औषधिहरु कता गयो अत्तो पत्तो छैन । कतै बढी मूल्यको लालसामा परेको त होइन ? प्रश्न उठन थालेको छ ।

काठमाडौँ, २५ साउन । हेपाटाइटिस सीका बिरामीलाई प्रभावकारी मानिने औषधि भाल्पानेट (सोफोस्पोभिर ४०० एमजी र भेल्पास्टाभिर १०० एमजी) औषधि आयातमा ठूलो आर्थिक चलखेलको आशंका उब्जिएको छ । औषधि व्यवस्था विभागका जिम्मेबार पदाधिकारीले आयातित औषधिमा सवा करोड बढी मूल्य राखेर बेच्न निर्देशन दिएपछि आर्थिक चलखेलको आशंका उब्जिएको हो ।

औषधि व्यवस्था विभागका पदाधिकारीहरुले सस्तोमा औषधि उपलव्ध गराउने प्रतिबद्धता जनाएको आयातकर्तालाई छनौट नगरी अर्को आयात कर्ता छनौट गरेको र त्यसमा पनि उसले तोकेको मूल्य भन्दा महंगोमा बेच्ने सर्तमा स्विकृति दिएपछि आर्थिक चलखेलको आशंका गरिएको हो ।

हेपाटाइटिस सि विरुद्धको खरीदका लागि गत आर्थिक बर्षको सुरु देखि नै प्रक्रिया अघि बढाएपनि झण्डै पाँच महिना पछि मात्रै त्यसले मुर्त रुप लियो । तर मुर्त रुप यसरी लियो कि आयात प्रक्रियामा सिधा सिधा रुपमा करोडौँको आर्थिक चलखेल भएको गन्ध भेटियो ।

गत पुसमा औषधि व्यवस्था विभागबाट पटके लाइसेन्सको स्विकृति लिएर नेपालमा हेपाटाइटिस सी बिरुद्धको औषधि भित्रउन सफल निशान्त फर्मास्युटिकल्स कम्पनी काठमाडौँले विभागका हाकिमलाई रिझाएर नै सो भन्दा कम मूल्यमा औषधि ल्याउन तम्सिएको हेटेरो ड्रग लिमिडेटलाई पछाडी पारेको थियो ।

कावरा ग्रुपको आयातकर्ता निशान्त फर्मास्युटिकल्सले भारतको नाट्को फार्मा लिमिटेडसंग हेपाटाइटिस सि विरुद्धको औषधि भाल्पानेट (सोफोस्पोभिर ४०० एमजी र भेल्पास्टाभिर १०० एमजी)एक पटक खरीद गर्न भन्दै स्विकृति लिने प्रक्रिया अघि बढायो । उसले त्यतिवेला प्रतिबट्टा ३३ हजार ७३० मूल्य तोकेको थियो ।

अर्को कम्पनी हेटेरो ड्रग लिमिटेडले सोही औषधि २८ हजारमा ल्याउने भन्दै निवेदन अघि सारयो । तर विभागका महानिर्देशक नारायणप्रसाद ढकालले सो हेटेरो भन्दा बढी मूल्य तोकेको निशान्तलाई नै स्विकृति दिए । अझ त्यसमा बिक्री मूल्य ३३ होइन ४० हजार पुरयाउने सर्तमा ।

सो निर्णय थाह पाएका विभागकै सूचना अधिकारी सन्तोष केसीले कम मूल्यमा दिन्छु भन्दा भन्दै बढी मूल्यमा बिक्री गर्न स्वीकृति दिन नमिल्ने भन्दै आफ्ना हाकिमको ध्यानाकर्षण गराएका थिए ।

केसीले ध्यानाकर्षण गराएको झण्डै एक महिना पछि विभागमा मूल्य सच्याउने काम त भयो तर बिक्रीका लागि स्वकीति पाएको नर्भिक इन्टरनेशनल हस्पिटलले सो औषधि दनादन ३७ हजारमा बेचिरहयो ।

विभागकै कर्मचारीले दवाव दिएपछि महानिर्देशक ढकालले अहिले विभागबाट औषधि मूल्य र वितरणको अवस्थाबारे बुझ्न नर्भिकमा निरीक्षक टोली खटाएका छन् । तर टोली खटिएपनि नर्भिकलाई औषधि नबेच्न भनिएको छैन् ।

‘हामीले अध्ययन गर्दा डेढ सय जति बिक्री भएको पायौँ, तर मूल्यमा एकरुपता भएको देखिएन, कसैलाई ३३ हजारमै बेचेको छ कसैलाई ३७ हजारसम्म लिएको छ,’ टोलीका एक सदस्यले भने ।

‘नेपालमा दर्ता नभएको यो औषधिका लागि कलेजोका डाक्टरहरुको आग्रहमा विभागले एक पटकका लागि विशेष सिफारिस गरिएको थियो र यो औषधि निर्यातकर्ता देश भारतमा समेत प्रयोगमा आएको छैन,’  विभागका एक अधिकारीले भने ।

औषधिमा आर्थिक चलखेल भएपछि विभागका महानिर्देशक ढकाल सहित केही कर्मचारी विरुद्ध अख्तियारमा समेत मुद्धा दायर भएको छ । अख्तियारले यसको छानवीन गरिरहेको स्रोतको दावी छ ।

एक हजार ल्याउँदा विक्री डेढ सय मात्रै
अति आवश्यक सूचिमा रहेको यो औषधि निसान्त फर्मास्युटिकल्सले एक हजार बट्टा ल्याउन अनुमति दिएको थियो । तर अहिलेसम्म नर्भिकबाट करीब डेढ सय बट्टा मात्रै विक्री भएको छ । अरु औषधि कहाँ गयो ? नेपाल बाहेक तेस्रो मुलुकमा यो औषधिको मूल्य निकै महंगो पर्ने भएकोले यसको दुरुपयोग भई विदेशिएको हुनसक्छ ।

विभागका प्रवक्ता सन्तोष केसी अहिले औषधिको बिक्रीकै बारेमा समेत समिक्षा गर्ने गरी अनुसन्धान अघि बढाएको बताउँछन् ।

औषधिको मूल्य ३३ हजार पनि बढी हो
नेपालमा ल्याउन लागिएको औषधिको एमआरपी मूल्य १८ हजार आईसी तोकिएको छ । त्यसको नेपाली मूल्यमा परिवर्तन गर्दा २८ हजार ८ सय पर्न जान्छ । तर विभागले सुरुमा स्वीकृत मूल्य ४० हजार दियो ।

त्यस हिसावले एक बट्टामै ११ हजार २ सय रुपैया बढी पर्न गयो । एक हजार बट्टा विक्री गर्दा बढी मूल्य मात्रै १ करोड १२ लाख बढी परयो । पछि सच्याएर ३३ हजार ७३० मा त झारियो तर त्यो पनि बढी भएको एमआरपीमै उल्लेख छ । विभागका अधिकारीहरु भन्छन्, यो बढी मूल्य भनेकै पुन सहज खरीद प्रक्रिया मिलाउनका लागि गरिएको सेटिङ हो ।

डकुमेन्ट विना नै यताबाट स्वीकृति उता अडर
आवश्यक कागजात पेश गरेर उचित ठहरिए मात्रै औषधि आयात गर्ने कम्पनीले आयातको लाइसेन्स पाउँछ । तर निशान्त कम्पनीलाई विभागले कागजात पछि पेश गर्ने गरी लाइसेन्स स्विकृत गरिदिएको छ ।

विभागका प्रवक्ता केसीले नियमत सबै कागजात पेश गरेपछि मात्रै प्रक्रिया अघि बढने भन्दै पछि पेश गर्ने गरी प्रक्रिया अगाडी बढेको भए गलत हुने बताए । उता निशान्त फर्मास्युटिकल्सले लाइसेन्स पाउनुभन्दा ६ महिना अघि नै उता विभागको पत्र लगि प्रर्चेजिङग अडर गरेको छ । यो पनि गैरकानूनी कार्य हो ।एक कर्मचारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *