केन्द्रीय टोलीद्धारा दुई नम्बर प्रदेशको स्वास्थ्य संस्थाको अनुगमन

काठमाडौँ, २५ साउन । सरकार मातहत रहेका अस्पतालहरु सुधार गर्न स्वास्थ्य मन्त्रालयले अनुगमनलाई तिब्रता दिएको छ ।

स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा उपत्यकाका जिल्लापछी तराईका जिल्लाहरुमा रहेका सरकारी अस्पतालको अनुगमन सुरु गरिएको हो ।

मन्त्रालयले सर्लाही, महोत्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सप्तरी, सुनसरी, सर्लाही लगायतका जिल्लाहरुमा रहेका सरकारी अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यालयमा अनुगमन गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख बिषेशज्ञ डा. पुष्पा चौंधरीको नेतृत्वको अनुगमनमा टोलीमा डा. दीपेन्द्ररमण सिंह, डा नरेशप्रताप केसी, डा तरुण पौंडेल लगायतको टोलीले २ नम्बर प्रदेश अन्र्तगतका जिल्लाहरुमा रहेका सरकारी स्वास्थ्य सस्थामा अनुगमन गरेको हो ।

स्वास्थ्य मन्त्री पोखरेलले सरकारी अस्पतालहरुको सेवा प्रभावकारी बनाउनका लागि स्वास्थ्य सस्थामा अनुगमन थालिएको बताए । अनुगमन टोलीले स्वास्थ्य सस्थामा पुगेर सकारात्मक-नकारात्मक रिपोर्ट ल्याउँछ, मन्त्री पोखरेलले भने, “हामी त्यहि आधारमा स्वास्थ्य सस्था सुधार गर्न एक्सन प्लानमा जानेछाँ ।”

मन्त्री पोखरेलले सरकारी अस्पतालहरुमा तत्काल गर्न सकिने सुधारहरु, केही समयपछि गर्न सकिने र दीर्घकालमा गरिने सुधारहरुको ठोस योजना ल्याएर अघि बढ्दा सरकारी अस्पतालहरु सुधार गर्न सकिने बताए । जस्तोसुकै जटिल अवस्था भएपनि सरकारी स्वास्थ्य सस्था सुधार गरेर अघि बढ्नुपर्ने मन्त्री पोखरेलको भनाई रहेको छ ।

अनुगमन टोलीको नेतृत्व गरेकी प्रमुख विशेषज्ञ डा. चौधरीले सरकारी अस्पतालहरु सुधार गर्न सकिने अवस्थामा रहेको जानकारी दिदै कुशल व्यवस्थापनको खाँचो रहेको बताइन ।

अनुगमन टोलीका सदस्य डा दीपेन्द्ररमण सिंहले अनुगमनका क्रममा सुधार गर्न सके सरकारी अस्पतालहरुलाई सेवा र पूर्वाधारको हिसाबले अब्बल बनाउन सकिने बताए । कुनै अस्पतालमा दरबन्दी अनुसार जनशक्ति छैन, कुनैमा भौतिक संरचना प्रशस्त छ, जनशक्ति छैन, कहि जनशक्ति छ पूर्वाधार छैन, सिंहले भने, “नेतृत्व दिनसक्ने प्रमुख भएको खण्डमा सरकारी स्वास्थ्य संस्थालाई राम्रो बनाउन सकिन्छ ।”

डा. नरेशप्रताप केसीले कतिपय अस्पताल तथा स्वास्थ्य सस्थाहरुको अवस्था भने दयनिय रहेको बताए । सामान्य परिवर्तन गर्न सकेपनि सेवाग्राहिले धेरै परिवर्तन गरेको महशुस गराउन सकिन्छ, केसीले भने “कतिपय अस्पतालहरु सरकारी मानसिकताका कारण सुधार हुन सकेका छैनन ।”

नीति योजना तथा अन्र्तराष्ट्रिय महाशाखा प्रमुख डा. श्रीकृष्ण गिरीले सरकारी सस्था सुधार गर्न मन्त्रालयले अनुगमन पश्चात ठोस योजना अघि बढाउने जानकारी दिए । डा. गिरीले सरकारी स्वास्थ्य सस्थालाई राम्रो बनाउन अस्पतालमा कार्यरत चिकित्सकहरु मात्र लागे पनि पुग्ने भन्दै अनुगमनसंगै सरकारी अस्पताल सुधारको काम गरिने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *