चिकित्सक लाइसेन्स परीक्षाको नतिजा : एमबीबीएसमा ४४ प्रतिशत, बीडीएसमा ७० प्रतिशत उत्तीर्ण
काठमाडौँ, २२ साउन । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्स परीक्षामा एमबीबीएस तर्फ ४४ प्रतिशत उत्तीर्ण भएका छन् । बीडीएस तर्फ भने उत्तीर्णसंख्या ७० प्रतिशत छ ।
शनिबार ( हिजो ) स्वयम्भूस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान अध्ययन संस्थानमा भएको परीक्षामा एमबीबीएस तर्फ ८८४ जनाले परीक्षा दिएका थिए । ती मध्ये ३९१ जना उत्तीर्ण भएका छन् । ७ जनाको नतिजा वीथ हेल्डमा राखिएको छ । सो परीक्षाको लागि ८८९ जनाले फारम भरेका भएपनि ५ जना भने गयल देखिएका छन् ।
त्यस्तै बीडीएस तर्फ ११५ जनाले परीक्षा दिएकोमा ८१ जना उत्तीर्ण भएका छन् । अनुतिर्णको संख्या ३४ मात्रै छ । एमबीबीएसको तुलनामा बीडीएसको नतिजा राम्रो देखिएको छ ।
कुन देशका विद्यार्थी कति पास ?
एमबीबीएस तर्फ परीक्षा दिनेमा यसपटक सबैभन्दा बढी चीनबाट पढेर आएका विद्यार्थीहरु छन् । तर सबैभन्दा बढी फेल पनि त्यहिपढेर आएका परेका छन् । चीनमा अध्ययन सकेर आएका ३५१ जनाले परीक्षा दिएकामा ९९ जना अर्थात २८ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
परीक्षामा दोस्रो बढी सहभागी हुने विद्यार्थीहरुमा नेपालमै अध्ययन गरेकाहरु हुन् । एमबीबीएसमा नेपालमा अध्ययन सकेका २७५ जनाले परीक्षा दिएकामा १७८ जना अर्थात ६४.७३ प्रतिशत विद्यार्थी पास भएका छन् ।
बंगलादेशबाट एमबीबीएस उत्तीर्ण गरेका १६० जनाले पनि यसपटक लाइसेन्स परीक्षा दिएका थिए । तर ६२ जना मात्रै अर्थात ३८.७८ प्रतिशत मात्रै पास भएका छन् ।
बीडीएस तर्फ पनि नेपालको अध्ययन उत्कृष्ठ देखिएको छ । परीक्षामा सहभागी ६७ मध्ये ६४ जना अर्थात ९६ प्रतिशत उत्तीर्ण भएका छन् ।
काउन्सिलको ‘खुकुलो नीतिको परिणाम : काउन्सिल प्रवक्ता अधिकारी
काउन्सिल प्रवक्ता डा कृष्ण अधिकारीले अहिले धेरै विद्यार्थी फेल हुनुमा काउन्सिलको यसअघिको खुकुलो नीति प्रमुख कारक रहेको बताए । उनले भने, ‘यो पाँच सात बर्ष अघिकै खुकुलो नीति हो । त्यतिवेला जस्तो व्यक्ति पनि पैसाको आडमा डाक्टर पढ्न चाहयो र पायो पनि । त्यहाँ योग्यता हेरिएन । क्षमता बुझिएन । जसो तसो पढेर पासै भएपनि सामान्य लाइसेन्स लिन सकेनन ।’
अहिले आफूहरुले विदेश अध्ययन गर्न जान चाहनेले पनि पहिले नेपालमै परीक्षा दिएर पास भएपछि मात्रै उताको कलेजमा भर्ना हुन मिल्ने व्यवस्था गराएको बताए ।
सम्पर्क इमेल : [email protected]