धनकुटा जिल्ला अस्पतालमा सुलभ फार्मेसी शुरु

फाईल तस्बिर

धनकुटा, १७ साउन । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई राहत दिने नीतिअनुरुप जिल्ला अस्पताल, धनकुटामा सुलभ फार्मेसी (औषधि पसल) सञ्चालनमा आएको छ ।

सोमबारदेखि जिल्ला अस्पतालमा सरकारले उपलब्ध गराउने ७० प्रकारका निःशुल्क औषधिबाहेक अन्य औषधि अवस्था कमजोर भएका बिरामीलाई राहत दिन सुलभ औषधि पसल सञ्चालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय, धनकुटाले जनाएको छ ।

औषधि पसलमा सबै प्रकारका रोगीका लागि औषधिको अधिकतम मूल्यको १० प्रतिशत छुटमा औषधि बिक्री गरिने धनकुटा अस्पतालका डा मदनकुमार उपाध्यायले बताए ।

अस्पताल विकास समितिमार्फत सरकारले प्रदान गर्ने रु पाँच लाख बराबरको लागतमा सञ्चालन भएको पसलले हाल ८४ प्रकारका अति आवश्यक औषधि उपलब्ध गराउने अस्पताल विकास समितिका अध्यक्ष सुनिलकुमार डंगोलले बताए ।

जिल्ला अस्पताल धनकुटाले आयोजना गरेको औपचारिक कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक विष्णुबहादुर बस्नेतले औषधि पसलको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, उद्योग वाणिज्य सङ्घ, धनकुटाका अध्यक्ष उमेश घिमिरेलगायतले पसल सञ्चालनसँगै दक्ष प्राविधिक र उपकरणसमेतको प्रयोग गरी सर्वसाधारणलाई स्वास्थ्य उपचारमा विश्वास दिलाउन आवश्यक रहेको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *