रसुवाका सबै स्वास्थ्य संस्थामा अब ‘ई-रिपोर्टिङ सिस्टम’
रसुवा १४ साउन । रसुवाको सबै स्वास्थ्य संस्थाले यो महिना देखि ‘ई – रिपोर्टिङ सिस्टम’ सुरु गर्ने भएका छन् । जीआईजेडको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले सबै स्वास्थ्य संस्थाका प्रमुख तथा गाँउ पालिकाका स्वास्थ्य हेर्ने प्रतिनिधिलाई आवश्यक प्रविधि र तालिम उपलव्ध गराएपछि ‘ई – रिपोर्टिङ सिस्टम’ सुरु गर्ने भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. झलक गौतमले ‘अनलाइन डाटा इन्ट्री’ गर्ने सम्वन्धी ‘ई – रिपोर्टिङ सिस्टम’ तालिमका लागि जिल्लाका १८ वटा स्वास्थ्य संस्थाका १९ जना, ५ वटा गाँउपालिकाका ५ जना र जिल्ला स्वास्थ्य कार्यालयबाट सुपरीवेक्षक ४ जना गरी २८ जनालाई तालिम दिएको बताए ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापान महाशाखा अन्तगर्तको एचएमआईएस शाखा र जीआईजेडको समन्वयमा गत ८ देखि १२ साउनसम्म जिल्ला सदरमुकाम धुन्चेमा सो तालिमको आयोजना गरिएको थियो ।
स्वास्थ्य प्रमुख डा. गौतमले अनलाइन रिपोर्टिङकै लागि सबै स्वास्थ्य चौकीमा ल्यापटप र इन्टरनेटका लागि आवश्यक उपकरणको समेत व्यवस्था गरिएको जानकारी दिए । उनले ‘ई – रिपोर्टिङ सिस्टम’ सुरु भएपछि हरेक स्वास्थ्य संस्थाले गर्ने गतिविधि सिधै केन्द्रको सूचना प्रणालीमा ‘लिंक’ हुने बताए ।
‘हामीले यसलाई डीएचआईएस अर्थात ( डिस्ट्रिक हेल्थ इन्फरमेसन सिस्टम)नाम दिएका छौँ । यसमा सफ्टवेर हुन्छ । त्यहाँ दर्ता हुनासाथ यो अटोमेटिक रुपमा केन्द्रको सिस्टममा जान्छ र केन्द्रको हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एचएमआईएस)मा संग डीएचआईएस लिंकेज हुन्छ,’ उनले भने । डा. गौतमलले डीएचआईएस लागू भएपछि स्वास्थ्य संस्थाको मासिक प्रतिवेदन आउन हुने ढिलाई सम्वन्धी समस्या समाधान हुने बताए ।
सम्पर्क इमेल : [email protected]