राजधानीमा फेरि देखियो स्वाइनफ्लु, एक परिवारको सबै सदस्यमा संक्रमण
– सुधिर ढुंगेल
काठमाडौँ, १३ साउन । राजधानीमा एक परिबारका सबै सदस्यलाई स्वाइनफ्लु देखिएको छ । काठमाडौँ कालिमाटी निवासी एक परिवारका तीन सदस्यमा स्वाइनफ्लु देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराउँदा एच-१ एन -१ ‘पाण्डामिक फ्लुु २००९’ देखिए पछि परिवारै उपचारका लागि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल अस्पताल आइपुगेका थिए ।
टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले परीक्षणका क्रममा एक परिबारका सबै सदस्यहरुमा एच१एन१ देखिएको भन्दै उपचारको प्रक्रिया अघि बढेको बताए । उनले परिबारका श्रीमान् श्रीमती र विद्यालय तहमा अध्ययन गर्ने एक छोरामा एच-१,एन-१ पोजेटिभ देखिएको बताए ।
उनले राजधानीका अन्य स्थानबाट पनि इन्फुलेन्जा ए एच-१ एन-१का विरामी आइरहेको भन्दै थप सतर्कता जरुरी रहेको बताए । ‘यो रोग ‘प्रतिरोधात्मक क्षमता कम भएकोहरुलाई अलि बढी नै खतरा हुन्छ । त्यसैले यसबाट जोगिनु उत्तम हुने हुन्छ,’ डा. पुनले भने ।
यसअघि हिजो मात्रै त्रिवि शिक्षण अस्पतालमा एक जना स्वाइनफ्लु भएका विरामीको ज्यान गएको थियो ।उता स्याङ्जाको वालिङमा संक्रमण बढेपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट टोली खटिएको छ ।
डा पुनले अहिले फ्लुको सिजन भएको भन्दै यसमा सतर्कता अपनाउनु सबैभन्दा उपयुक्त हुने बताए । उनले सतर्कता अपनाउन निम्न कुराहरुमा ध्यान दिन सुझाव दिएका छन् ।
- स्वस्थ मानिसले पनि सकेसम्म मास्क प्रयोग गरेर हिड्ने
- रुघाखोकी र ज्वरो आएका विरामीले थप परीक्षण गर्ने
- फ्लु देखिएका विरामीहरु छुट्टै बस्ने, प्रयोग गर्ने सामानहरु छुट्टै राख्ने, अरुले प्रयोग गर्दा पनि राम्ररी पखालेर मात्रै प्रयोग गर्ने
फ्लु देखिएका विरामीहरु सकेसम्म बाहिर ननिस्कने । - फ्लुबाट बच्नका लागि अहिले फ्लु बिरुद्धको खोप आएको छ । त्यो लगाउन पनि सकिन्छ
सम्पर्क इमेल : [email protected]