सरकार र डा. गोविन्द केसी पक्षबीच आज बार्ता हुँदै

काठमाडौँ, १३ साउन । सरकारी बार्ता टोली र त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा . गोविन्द केसी पक्षबीच आज बार्ता हुने भएको छ । शिक्षा मन्त्रालयमा हुने बार्तामा सरकारी बार्ताटोलीको नेतृत्व शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले गर्नेछन् ।

टोलीका अन्य सदस्यहरुमा प्रधानमन्त्री कार्यालयका सचिव गोपिनाथ मैनाली र स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मी छन् । तर डा. रेग्मी विदेश भएकोले निमित्त सचिव डा. विनोदमान श्रेष्ठ बार्तामा बस्ने बुझिएको छ ।

उता डा. केसी पक्षबाट बार्तामा पुरानै टोली प्राडा वाइपी सिंह, डा. रञ्जन सापकोटा र डा. जीवन क्षेत्री सहभागी हुने बुझिएको छ ।

‘डा. केसीका मागका विषयमा हामी आजै बार्ता गर्दैछौँ ,’ सरकारी टोलीका संयोजक शिक्षा सचिव श्रेष्ठले भने, ‘कतिवेला भन्ने अहिलेसम्म निधो भएको छैन् । उताका साथीहरुले कतिवेला भन्नु हुन्छ हामी तयारी अवस्थामा छौँ ।’

यसअघि सरकारी बार्ता टोलीले शिक्षण अस्पताल पुगी हिजो नै डा. केसीसंग प्रारम्भिक छलफल गरेको थियो । सो क्रममा टोलीले डा केसीलाई नै बार्तामा सहभागी हुन प्रस्ताव गरेको थियो ।

तर डा. केसीले कमजोर स्वास्थ्य अवस्थाका कारण आफू सहभागी हुन नसक्ने भन्दै आफ्नो पुरानै टिमलाई जिम्मा दिने बताएका थिए । ‘हामीले हजुर नै बस्नुस बार्तामा अनि छलफल गरौँ भनेका थियौँ । तर उहाँले स्वास्थ्यको कारण देखाउँदै मान्नु भएन,’ सचिव श्रेष्ठले भने ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी ९ साउन देखि त्रिवि शिक्षण अस्पतालमा आफ्नो ११ औँ चरणको अनसन बसेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *