‘उपचारको लागि बीर छाडेर विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ’: प्रधानमन्त्री

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले बीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न अस्पताल बनाउने बताएका छन् । उनले बीर अस्पतालको गुणस्तर सुधारेर नेपालीलाई उपचारका लागि विदेश जानु पर्ने स्थितिको अन्त्य हुने दावी गरेका छन् ।

बीर अस्पतालको १२८ औँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले ऐतिहासिक अस्पताललाई सुविधा सम्पन्न गराउने कुरामा सरकारले काम अघि सारिसकेको भन्दै आम सर्वसाधारणले सहज रुपमा उपचार प्राप्त गर्ने बाताबरण बनाउनुपर्नेमा जोड दिए ।

उनले स्वास्थ्य जनताको मौलिक हक रहेको भन्दै यसको कार्यान्वनयका लागि बीर जस्ता केन्द्रीय अस्पतालबाट सुरु हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले सबैभन्दा पुरानो ऐतिहासिक अस्पतालको सेवा सुध्रिड गर्न सरोकारवालालाई निर्देशन दिए । उनले देशको स्वास्थ्य सेवाको दर्पण बीर अस्पताल भन्दै उनले बीरमा दिइने सेवाले देशको स्वास्थ्य ऐन नीतिको अवस्था छर्लङ्ग हुने बताए ।

पदवहाली गरेको दोस्रो दिनमै बीरको बार्षिकोत्सवलाई सम्वोधन गर्न पुगेका मन्त्री पोखरेलले संविधानमा उल्लेख भएका आधारभुत तथा निशुल्क स्वास्थ्यको कार्यान्वनयमा सरकारको प्राथमिकता रहेको भन्दै त्यसका लागि सबै स्वास्थ्यकर्मीहरु आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

पूर्व स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो कार्यकालमा भएका काम र गरिएका प्रयासहरुको फेहरिस्त प्रस्तुत गर्दै नयाँ स्वास्थ्य मन्त्रीलाई ती कामहरुलाई समेत अघि बढाउन निर्देशन दिए । सरकारी स्वास्थ्य संस्थालाई बलियो बनाए मात्रै आम जनताको अधिकार सुनिश्चित हुने भन्दै पूर्वाधार उपकरण र जनशक्तिमा सरकारी स्वास्थ्य संस्थालाई बलियो बनाउनुपर्ने बताए ।उनले डा गोविन्द केसी अनसन बसिसकेको भन्दै सरकारले तत्काल बार्ताटोली गठन गरी माग अनसन तोडाउने पहलमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले बीर अस्पतालको पुर्न संरचनाका लागि भएका कदमहरु बारे तथा निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले अस्पतालको प्रगतिविवरण प्रस्तुत गरेका थिए । सो अवसरमा २५ बर्षभन्दा बढी सेवारत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

विसं १९४७ साउन १२ गते १५ बेडको अस्पतालको रुपमा स्थापीत बीर अस्पतालमा अहिले ४६० बेड सञ्चालनमा छ । दैनिक १८ सय देखि २ हजार विरामी ओपिडीमा आउने बीरले एक बर्षमा ३ लाख ८४ हजार ५५५ जनाको उपचार गरेको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *