विशेषज्ञ चिकित्सक नपुगेका १५ जिल्लामा एमडीजीपी पठाउने तयारी
काठमाडौँ, ५ साउन । सरकारले विशेषज्ञ सेवा नपुगेका दुर्गमका १५ जिल्लामा एमडीजीपी चिकित्सक पठाउने तयारी भएको छ ।
स्वास्थ्य मन्त्रालयले निक साइमन इन्स्टिच्युट (एनएसआई)संग मिलेर दुर्गममा विशेषज्ञ चिकित्सक पठाउने भएको हो ।
एनएसआईले अहिले विभिन्न १८ जिल्लामा एमडीजीपी चिकित्सक पठाएको छ । ती चिकित्सकको सेवा उत्कृष्ठ मानिएको छ । मन्त्रालय चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले एनएसआईसंग ‘पार्टनरसीप’ गरी चिकित्सक पठाउने योजना अघि बढेको बताए । उनले कुन कुन जिल्लामा पठाउने भन्ने बारेमा अहिले पूरै तयारी भने भईनसकेको जानकारी दिए ।
एमडीजीपी पोष्टिङ गर्दा स्वास्थ्य मन्त्रालयले ४० प्रतिशत खर्च वेहोर्ने र ६० प्रतिशत खर्च एनएसआईको हुने बताइएको छ । ‘अहिले त्यसैको लागि कार्यविधि बनाउने तयारी भइरहेको छ । त्यसपछि यो प्रक्रियाले गति लिन्छ,’ उपसचिव लामिछानेले बताए ।
उनले नयाँ नियुक्त हुने एमडीजीपी पनि एनएसआईकै पद्धती अनुसार चल्ने बताए । ‘एनएसआईले विभिन्न जिल्लामा खटाएका एमडीजीपीको सेवा उत्कृष्ठ लाग्यो । त्यसैले अरु बाँकी जिल्लामा पनि सहयोग गर्नुस भनेका हौँ त्यसका लागि हामीले एनएसआईलाई केही सहयोग गर्न खोजेका मात्रै हौँ । सेवा दिने र खटाउने काम एनएसआईकै हुन्छ,’ लामिछानेले भने ।
सम्पर्क इमेल : [email protected]