नोबेल शान्ति पुरस्कार विजेता लिउको स्वास्थ्य अवस्था गम्भीर

बेईजिङ, २९ असार । क्यान्सर रोगबाट पीडित नोबेल शान्ति पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको समाचार छ ।

उनको स्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था थप नाजुक भएको अस्पताल स्रोतले जनाएको छ । उनलाई राखिएको चिनियाँ अस्पतालले बिहीबार पनि सो जानकारी दिएको छ ।

उता हिजै प्राप्त अर्को एक समाचारमा जर्मनी सरकारले उनको उपचारको जिम्मा लिने जानकारी दिएको थियो । यस विषयमा चिनियाँ सरकारको आधिकारिक भनाई आएको छैन । यद्यपि चीन सरकारले उनको उपचारको विषयमा कुनै टिप्पणी नगर्न आग्रह भने गरेको छ ।

यसैबीच जियाओबोको स्वास्थ्यस्थिति र यस सम्बन्धी सबै समाचार स्वतन्त्रतापूर्वक सम्प्रेषण गर्न कन्जुस्याइँ गरिएको भनी मानव अधिकारवादीहरुले आरोप लगाएका छन् ।

लिउको प्राकृतिक श्वासप्रश्वास प्रणालीमा अवरोध उत्पन्न भएपछि भेन्टीलेटरमा राखी कृत्रिम श्वासप्रस्वास गराउन आवश्यक रहेकोमा उनका परिवारजनले नमानेको समेत उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा अवस्थित फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटिले जनाएको छ ।

चीनमा प्रजातन्त्रका अभियन्ता ६१ बर्षीय लिउलाई विगत तीन दिनदेखि संक्रमणविरुद्ध र रक्त सम्बन्धी उपचार गराइरहेकोमा उनको कलेजोले पनि काम गर्न छोडेकोले स्वास्थ अवस्था झनै गम्भीर भएको थियो ।

यसअघि पनि सो अस्पतालले उनको शरीरका धेरै अङ्गहरुले काम गर्न छाडेको बताएको थियो । त्यसपछि अस्पतालका तर्फबाट उनको स्वास्थ्य बुलेटिन प्रकाशन गरिएको छैन ।

सन् २००८ मा राज्यद्रोहको अभियोग लागी लिउ सन् २००८ देखि काराबासको सजायँ भोगी रहेका छन् । उनी हाल जेलमै छन् ।

सन् १९३८ ताका नाजीहरुका राज्यकालमा नोबेल पुरस्कार बिजेता जर्मनका कार्ल भान ओसित्स्कीको जेलमै मृत्यु भएझैँ चिनियाँ अधिकारकर्मी लिउको पनि जेलमै मृत्यु हुने खतरा देखेपछि सघन उपचारका लागि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

लिउको उपचारका बारेमा चासो दिदै आएको बताउँदै जर्मनी सरकारका प्रवक्ता स्टेफेन सेइबेर्टले उनको सम्पूर्ण उपचार जिम्मा लिन जर्मनी तयार रहेको बताए ।

तर, अन्तर्राष्ट्रिय आग्रहका बारेमा केही नबताए पनि चिनियाँ सरकारले भने सम्भव भएसम्मका स्वदेशी उच्च चिकित्सकहरुको संलग्नतामा उनको उपचार गराइरहेको जनाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता चेङ सुआङगले बुधबार चीनको न्यायिक सार्वभौमसत्ता अन्य देशले सम्मान गर्नुपर्ने भन्दै कुनै पनि व्यक्ति विशेषको स्वास्थ्यको विषयलाई लिएर कुनै पनि टीकाटिप्पणी गर्नु आन्तरिक मामिलामा हस्तक्षेप गर्नु सरह हुने उनले बताए ।

गत हप्ता एक जना जर्मन र एक जना अमेरिकी चिकित्सकले लिउलाई भेटेपछि विदेशमा सुविधा सम्पन्न अस्पतालमा जान उनी अझै पनि सक्षम रहेको बताएका थिए ।

त्यसलगत्तै उनी उपचाररत अस्पतालले भने उनको अवस्था दिन प्रतिदिन नाजूक भइरहेको प्रतिवेदन प्रकाशन गर्दै आइरहेको छ । उनलाई भेट्न पनि सिमीत व्यक्तिहरुलाई मात्र दिइएको छ ।

यसैबीच ताईवानका राष्ट्रपति चाई इङ–वेनले लिउलाई काराबासमुक्त गर्न र उनले इच्छा गरे अनुसारको स्वतन्त्रतापूर्वक उपचार गराउने हकबाट बन्चित नगर्न बेइजिङगसँग ट्विटरमार्फत आग्रह गरेका छन् ।

साथै लिउले ताईवानमा उपचार गराउने इच्छा गरेमा त्यसका लागि आफू तयार रहेको समेत उनले बताएका छन् ।

त्यसैगरी अमेरिकामा उपचार गराउन चाहेमा उनलाई स्वागत गर्न इच्छुक रहेको भनी गत मङ्गलबार अमेरिकाले पनि लिउलाई मुक्त गर्न चीनसँग आग्रह गरेको थियो । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *