काठमाडौँ उपत्यकालाई छाडेन हैजाले, तीन विरामी फेलापरे
काठमाडौंँ, २० असार । उपत्यकामा वर्षायामसँगै देखापर्ने हैजा (भिब्रिओ कोलेरा) यस वर्ष पनि देखापरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरका तीन जनामा हैजाको जीवाणु देखिएको हो ।
महाशाखाका निर्देशक डा. भीम आचार्यले चापागाउँदोबाटो, सातदोबाटो र खुमलटारका बिरामीमा हैजाको जीवाणु भेटिएको जानकारी दिँदै सर्वसाधरणलाई हैजाबारे सचेत रहन आग्रह गरे ।
गत वर्ष उपत्यकामा १६५ जनामा यस किसिमको हैजाको जीवाणु भेटिएको थियो भने तीमध्ये १२० जना ललितपुरका थिए । हैजालाई नियन्त्रण गर्न महाशाखाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र उपत्यकाका पानी ट्याङ्कर व्यवसायीसँग पनि छलफल गरिरहेको छ । वर्षायाम सुरु भएदेखि नै उपत्यकाका विभिन्न अस्पतालमा झाडापखालाका बिरामीको समेत भीड लाग्ने गरेको छ ।
डा. आचार्यले गत वर्ष उपत्यकामा सबैभन्दा धेरै ललितपुरमा १२०, काठमाडौँमा ४७, भक्तपुरमा एक र ठेगाना नखुलेका चारजना बिरामीमा हैजाका जीवाणु भेटिएको जानकारी दिए ।
घरमा नियमित आउने खानेपानी, जारको पानी, ट्याङ्करबाट किनिएको पानीमा समेत हैजाको जीवाणु भेटिने भन्दै जारको पानी राम्रो होला भन्दैमा त्यतिकै नखान आग्रह गरे । जुनसुकै पानीलाई पनि उमालेर पिउन उनले सुझाव दिए ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले दूषित पानी, राम्रोसँग नपाकेको खाना र तरकारी, माछामासु, राम्रोसँग सफा नगरिएको फलफूलबाट समेत हैजाका जीवाणु सर्ने जानकारी दिए ।मुख्यतया पानीबाटै सर्ने हो डा. पुनले भने, “पानी राम्रोसँग उमालेर पिएको अवस्थामा हैजाबाट बच्न सकिन्छ । ”
महाशाखा प्रमुख आचार्यले उपत्यकामा १९९० सालको भूकम्पपछि प्रत्येक वर्ष हैजाका बिरामी देखिने गरेको जानकारी दिँदै समयमै उपचार भए हैजाबाट कोही व्यक्तिको पनि मृत्यु नहुने बताए ।
उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी ट्याङ्कर व्यवसायी सङ्घ, जार व्यवसायी, रेस्टुराँ व्यवसायीहरूसँग खानेपानीमा पर्याप्त मात्रामा क्लोरिन मिसाएर मात्र सर्वसाधारणलाई वितरण गर्न आग्रह गरे ।
सरुवा रोेग विशेषज्ञ डा. पुनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १५ जनासम्म झाडापखाला लागेका बिरामी आउने गरेको जानकारी दिए ।
उनका अनुसार प्रायः असोज महिनासम्म हैजाका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।
- आजको गोरखापत्रमा सरोज ढुंगेलको समाचार
सम्पर्क इमेल : [email protected]