पार्किन्सन रोगबारे जनचेतना जगाउन मेची–महाकाली यात्रा सुरु

झापा, ७ असार । पार्किन्सन रोगको विषयमा जनचेतना बढाउने उद्देश्यले ‘गुफी’ नामले प्रख्यात नेपाली बाइक राइडर प्रमोद श्रेष्ठले सुदूरपूर्वी नाका काँकडभिट्टाबाट आज बिहान २४ घन्टे मेची–महाकाली बाइक यात्रा सुरु गरेका छन् ।

बिहान ठीक ८ बजे काँकडभिट्टास्थित प्रवेशद्वारबाट श्रेष्ठले स्थानीयवासीले दिएको खादा र अबिर लगाएर यात्रा प्रारम्भ गरेका हुन् । बाइकयात्री श्रेष्ठले अबिरल बाइक कुदाएर एक हजार २४ किमी दूरी २४ घन्टामा पार गरी भोलि बिहान ८ बजे महाकालीको गड्डाचौकी पुगेर यात्रा समापन गर्ने जानकारी दिए ।

‘एमटुएम च्यालेन्ज’ नाम दिइएको यो यात्रामा श्रेष्ठले २२ वर्ष पुरानो आफ्नै रोयल एनफिल्ड मोटरसाइकल प्रयोग गरेका छन् । यात्रामा पार्किन्सन रोगबाट ग्रसित भएर पनि यसको जनचेतना अभिवृद्धिमा अभियान सञ्चालन गरिरहेकी काठमाडौँकी ३० वर्षीया बनिता खनाल पनि छन्।

बूढेसकालमा लाग्ने भनिएको पार्किन्सन रोग हाल तन्नेरीलाई समेत लाग्न थालिसकेको जनाउँदै अभियन्ता खनालले नेपालमा यसको चेतनाको कमी भएको महसुुस गर्दै मेची–महाकाली बाइक यात्रामार्फत सबै नेपालीको ध्यान आकर्षित गर्न खोजिएको बताएका छन्। १९ वर्षको उमेरमा एकदिन लेख्न बस्दा हात नचलेपछि आफूलाई पहिलोपल्ट पार्किन्सनको असर थाहा भएको बनिताले बताइन् ।

बनिताका अनुसार दिमागमा हुने डोपामिनको कमीले पार्किन्सन रोग लाग्छ । रोग लागेपछि शरीर काम्ने, जिउ धान्न नसक्ने, हिँड्न गाह्रो हुने, लेख्न गाह्रो हुने, प्यारालाइसिसजस्तो लक्षण देखापर्छ । यसको पूर्ण उपचार मेडिकल विज्ञानले पत्ता लगाइसकेको छैन । असर न्यूनीकरणका लागि औषधि सेवन तथा दिमागको शल्यक्रिया गरिने भएपनि हाल विश्वभरि पार्किन्सन चिन्ताको विषय बन्दै गएको छ ।

प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ पनि पार्किन्सन पीडित छन् भने गायक अम्बर गुरुङ र मोहम्मद अली पनि यही रोगबाट पीडित थिए । राइडर प्रमोद श्रेष्ठले पार्किन्सन लागेकी बनिता खनालले फेसबुकमार्फत जनचेतना बढाइरहेको देखेपछि आफूले नै यस अभियानलाई सघाउन मेची–महाकाली बाइक यात्रा गर्न लागेको बताइन् ।

पार्किन्सन अभियान सञ्चालन गरिरहनुभएकी बनिता काठमाडौँ अनामनगर निवासी हुन् । पार्किन्सन लागेपछि नै विवाह गरेकी उनको एक सन्तान छन् । पार्किन्सनले बिस्तारै आफूलाई थला पार्ने जानेर नै यसको विषयमा जनचेतना बढाउन अभियान थालेको उनी बताउछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *