स्वास्थ्य बीमा गराउने दर्ता सहयोगी अब वडा अध्यक्षले छनौट गर्ने
काठमाडौँ, ५ असार । सरकारले स्वास्थ्य बीमा गराउने दर्ता सहयोगीको छनौट गर्ने अधिकार वडा अध्यक्षलाई दिएको छ । यसअघि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख संयोजकत्वमा गठित समितिले दर्ता सहयोगीको छनौट गर्दथ्यो ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भई बीमा कार्यक्रम सुरु भएका जुम्ला, जाजरकोट, मकवानपुर, गोरखा, तनँहू, भक्तपुर लगायतका जिल्लामा स्थानीय जनप्रतिनिधीले दर्ता सहयोगी छनौट गरेका छन् । उनीहरुले छनौट गरेका सहयोगीहरु तालिम तथा काममा खटिइसकेका छन् ।
दर्ता सहयोगी छनौट गर्न वडा अध्यक्षको संयोजकत्वमा वडा सचिव र स्थानीय स्वास्थ्य संस्था प्रमुख सदस्य रहने तीन सदस्यीय दर्ता सहयोगी छनौट समिति गठन गरिएको छ । सोही समितिले आवश्यकता अनुसार दर्ता सहयोगी छनौट गर्ने काम गर्दछ ।
समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनी भन्छन्, ‘पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि बीमा कार्यक्रम लागू भएका जिल्लाहरुमा दर्ता सहयोगी छनौटको जिम्मा वडा अध्यक्षलाई दिइएको छ ।’ उनले नयाँ दर्ता सहयोगीको लागि विज्ञापन गर्ने परीक्षा लिने वा छनौट गर्ने जिम्मा अव गाँउ पालिका र नगरपालिकामा निर्वाचित वडा अध्यक्षमा पुगेको बताए ।
यो बर्ष १५ जिल्लामा मात्रै स्वास्थ्य बीमा
आर्थिक बर्ष २०७३ ०७४ भित्र स्वास्थ्य बीमा कार्यक्रम २५ जिल्लामा विस्तार गर्र्नेे सरकारको घोषणा यसपटक पुरा नहुने देखिएको छ । लम्बिदै गएको स्थानीय निकायको निर्वाचनले नयाँ कार्यक्रम सुरु गर्नै नपाएपछि घोषणा पुरा हुन नसकेको हो ।
समितिका निर्देशक डा. लोहनी भन्छन्, ‘सुरुमै हामीले तालिका बनाएर कुन महिनामा कहाँ सुरु गर्ने भन्ने थियो । तर बीचमा निर्वाचन घोषणा भयो र त्यो पटक पटक सरयो । निर्वाचन घोषणा भएपछि आचार संहिता लाग्नेकारणले हामीले कार्यक्रम अघि बढाउन पाएनौँ।’
समितिका अनुसार अहिलेसम्म कैलाली, बाग्लुङ, इलाम, बैतडी, अछाम, पाल्पा, म्याग्दी, कास्कीमा बीमा कार्यक्रम अन्तर्गतको उपचार सेवा समेत सञ्चालनमा आइसकेको छ ।
पहिलो चरणको स्थानीय निर्वाचन पछि केही दिन अघि मात्रै चितवन, भक्तपुर, तनँहू र जुम्लामा समेत यो कार्यक्रम सुरु गरिएको छ । १५ असारदेखि बाँकी तीन जिल्लाहरु जाजरकोट, गोरखा र मकवानपुरमा लागू हुने बताइएको छ ।
निर्वाचनको कारण यो आर्थिक बर्षमा घोषणा भएर लागू हुन नपाएका थप १० जिल्लामा नयाँ आर्थिक बर्ष लाग्नासाथ सुरु हुने समेत लोहनीले बताए ।
सम्पर्क इमेल : [email protected]
One thought on “स्वास्थ्य बीमा गराउने दर्ता सहयोगी अब वडा अध्यक्षले छनौट गर्ने”