गर्मीसंगै उपत्यकामा झाडापखलाबाट बिरामी हुनेको संख्यामा बृद्धि
काठमाडौँ, २ असार । गर्मी बढेसंगै उपत्यकामा झाडा पखलाबाट बिरामी हुनेको संख्यामा पनि बृद्धि भएको छ । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा केही दिन यता झाडा पखलाका बिरामीको संख्या बढेको पाइएको छ ।
अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले चार पाँच दिन यता झाडा पखलाका विरामीहरुको संख्यामा बृद्धि भएको बताए । ‘पहिले दिनमा ५/६ जना विरामी आउने गर्दथे तर अहिले सो संख्या दोब्बर बढी देखिएको छ अर्थात दिनमै १४/ १५ जना विरामी झाडा पखलाका आउने गरेका छन्,’ डा. पुनले भने ।
४ दिनयता मात्र अस्पतालमा ७५ जना जति झाडापखालाका बिरामी आएको उनले जानकारी दिए । त्यसैगरी गर्मीकै कारण सो अस्पतालमा जन्डिस र टाइफाइडका रोगीको चाप पनि बढ्दो रहेको छ। झाडापखाला खाना तथा पानीबाट सर्ने रोग भएकाले खानपानमा विशेष ध्यान दिनु पर्ने डा. पुनले बताए।
‘झाडापखला खाना तथा पानीबाट सर्ने रोग हो। त्यसैले स्वस्थ जीवनशैली अपनाउनु पर्छ।खाना बनाउनुअघि, खानुअघि तथा दिसा धोइसकेपछि राम्रोसँग साबुनपानीले हात धुने गर्नुपर्छ। खानेकुरा राम्रोसँग पकाएर मात्र खाने, फोहोर, बासी तथा सडेगलेको खानेकुरा नखाने, पानी उमालेर मात्र पिउने, फलफूल, सागपात तथा सलादहरु राम्रोसँग धोएर तथा सफा गरेर मात्र खाने गर्नु पर्छ’ डा. पुनले भने ।
झाडापखाला लाग्दा दिसा पातलो हुने वा धेरैपटक लाग्ने, पिसाब निकै कम लाग्ने हुन्छ। पेट बटारिने, दुख्ने, वाकवाकी लाग्ने। लक्षण देखिने हुदाँ यस्तो लक्षण देखिएको ४८ घण्टासम्म पनि झाडापखला निको भएन र ज्वरो पनि घटेन भने उपचार गराउनु पर्ने डा. पुनको सुझाव छ ।
सम्पर्क इमेल : [email protected]