आजबाट थप चार जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू
काठमाडौँ, १ असार । सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम आजबाट थप चार जिल्लामा लागू भएको छ । थपिएका जिल्लाहरुमा जुम्ला, भक्तपुर, तनहूँ र चितवन रहेका छन् । यसअघि आठ वटा जिल्लाहरु कैलाली बाग्लुङ इलाम, ग्याम्दी, कास्की, पाल्पा, अछाम, बैतडीमा यो कार्यक्रम लागू भइसकेको छ ।
बीमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा. गुणराज लोहनीले आज देखि चुनाव सम्पन्न भएका चारवटा जिल्लामा आजबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको बताए । उनले आउदो १५ असार देखि थप जाजरकोट, गोरखा र मकवानपुर कार्यक्रम लागू गर्ने तयारीमा रहेको जानकारी दिए ।
चालु आर्थिक बर्ष भित्रमा २५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याउने योजनाका साथ अघि बढेको समितिलाई स्थानीय निकायको निर्वाचनले अवरोध गरेको थियो । ‘आचारसंहिता पनि लाग्यो चैत बैशाखमा सुरु हुने कार्यक्रम अहिलेसम्म रोकियो,’ निर्देशक लोहनीले भने । उनका अनुसार आज देखि कार्यक्रम लागू भएका जिल्लामा सदस्य बन्नेहरुले आगामी भदौ महिना देखि बीमा बापतको उपचार सुविधा पाउनेछन् ।
विसं २०७२ साल चैत २५ चैतबाट कैलालीमा पहिलो पटक बीमा कार्यक्रम आरम्भ भएको थियो । त्यसको केही महिना पछि बाग्लुङ र इलाम समेत यो कार्यक्रम सञ्चालनमा आएको थियो ।
स्वास्थ बिमा कार्यक्रम सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल विभिन्न आठ जिल्लामा सञ्चालित छन्। हाल सम्म ७० हजारले स्वास्थ्य बिमा बापत सेवा लिइसकेका छन्।
के हो स्वास्थ्य बीमा ?
स्वास्थ्य बिमाको सदस्यताको लागि ५ जना सदस्य भएको परिवारलाई एक एकाई निर्धाराण गरेको छ। एउटा परिवारले वर्षको २ हजार ५ सय रुपैयाँ तिरेपछि वर्षभरिमा ५० हजार बराबरको स्वास्थ्य सेवा लिन पाउँछन्।
यदि ५ जनाभन्दा बढि सदस्य भएको परिवार भए १ व्यक्ति बराबर ४ सय २५ रुपैयाँ थपिन्छ भने सेवा पनि १० हजार थप लिन सक्ने व्यवस्था रहेको छ।
सम्पर्क इमेल : [email protected]