स्वास्थ्य सचिव सिफारिस गर्न बढुवा समितिको बैठक बस्दै, नौ जनाको विवरण पठाइयो
काठमाडौँ, १ असार । स्वास्थ्य सचिवका लागि सिफारिस गर्न गठित बढुवा समितिले योग्यता पुगेका सबै उम्मेदवारको विवरण मागेपछि स्वास्थ्य मन्त्रालयले आफ्ना नौ जना कर्मचारीको विवरण पठाएको छ । बढुवा समितिको बैठक अहिले चार बजे देखि बस्दैछ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सचिवका लागि विवरण पठाइएकाहरुमा डा. किरण रेग्मी ( १२ औँ तह) , बाह्रौ तहमा बढुवाका लागि सिफारिस भएका डा. दिनेश श्रेष्ठ, डा. पुष्पा चौधरी, डा. विनोदमान श्रेष्ठ, डा. रोशन पोखरेल र डा. दीपेन्द्ररमण सिंह छन् । त्यस्तै जनस्वास्थ्य कार्यालय काठमाडाँैका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ, बीर अस्पतालका डा. केदार सेन्चुरी, आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरी रहेका छन् । पछिल्ला तीन जना समावेशी कोटाबाट परेका हुन् ।
स्रोतका अनुसार बढुवा समितिको बैठक हिजो पनि बसेको थियो । ‘ बैठकले योग्यता पुगेका सबैको विवरण मगाउने र अध्ययन गर्ने निर्णय गरेको थियो । सोही आधारमा आज विवरण पठाइएको हो,’ मन्त्रालय स्रोतले भन्यो ।
आजै सचिव नियुक्ती हुने सम्भावना
स्रोतका अनुसार आज चार बजे बस्ने बढुवा समितिले तीन जनाको नाम सिफारिस गर्ने र पाँच बजे बस्ने मन्त्री परिषदको बैठकले त्यसमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्ने बताइएको छ । ‘सम्भवत आजैको बैठकबाट निर्णय हुनेछ’ नेपाली हेल्थसंग स्रोतले भन्यो ।
यसअघिका सचिव डा. सेनेन्द्रराज उप्रेती गत मंगलबारबाट अनिवार्य अवकाशमा गएपछि स्वास्थ्य मन्त्रालय सचिव विहीन छ ।
सम्पर्क इमेल : [email protected]