एक बर्ष मुनिका बालबालिकाको खोप ‘कभरेज’ दरमा गिरावट

काठमाडौँ, ३१ जेठ ।सरकारले एक बर्ष मुुनिका बालबालिकालाई दिदै आएको खोपको कभरेज दरमा गिरावट देखिएको छ । स्वास्थ्य सेवा विभागले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार जापानीज इन्सेफलाइटिस बाहेकका अरु खोपको कभरेज दरमा गिरावट आएको हो ।

विभागले निकालेको रिपोर्टमा गतवर्ष अर्थात आर्थिक बर्ष २०७२ ०७३ मा बीसीजी खोपको कभरेज दर ८७ प्रतिशतमा झरेको छ । जवको त्यो भन्दा अघिल्लो बर्ष सो खोपको कभरेज दर ९४ प्रतिशत थियो भने त्यो भन्दा अझ अघिल्लो बर्ष ९९ मा पुगेको थियो ।

त्यस्तै डीपीटी हेप बी को कभरेज दर तीन बर्षमा १० प्रतिशतले घटेको छ । आर्थिक बर्ष २०७० ७१मा ९२ प्रतिशत पुगेकोमा आर्थिक बर्ष ०७२०७३ मा घटेर ८२ प्रतिशतमा झरेको छ । अर्को खोप ओपिभीको झन त्यो भन्दा पनि तल पुगेको छ । तीन वर्ष अघि ९२ प्रतिशत कभरेज भएकोमा तीन बर्ष पछि ७९ प्रतिशतमा झरेको छ ।

त्यस्तै दादुरा तथा रुवेला खोपको कभरेज दर पनि ११ प्रतिशतले घटेको छ । आर्थिक बर्ष २०७० ०७१मा ८८ प्रतिशत कभरेज भएको यो खोप आर्थिक बर्ष २०७२ ०७३मा पुग्दा घटेर ७७ मा झरेको छ ।

सरकारले धमाधम पूर्णखोप जिल्ला घोषणा गरिरहेका बेला तीन वर्ष अघि र अहिलेको पूर्ण खोप कभरेज दरमा समेत कमी देखिएको छ । अघिल्लो बर्ष ७३ प्रतिशतले पूर्ण खोप पाएको देखिएकोमा पछिल्लो बर्ष ६६ प्रतिशतले मात्रै यो अवस्थामा पुगको देखिन्छ ।

प्रतिवेदनमा १२ देखि २३ महिनाका बालबालिकालाई दिइने जापानीज इन्सेफलाइटिसको कभरेज दर भने तीन बर्षमा २० प्रतिशतले बढेको देखिएको छ । आर्थिक बर्ष २०७००७१मा ४३ प्रतिशत कभरेज भएकोमा गतवर्ष ६३ प्रतिशतमा पुगेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले प्रतिवेदन सन्तोषजनक नआएको भन्दै यसको कारण भने पत्ता लागि नसकेको बताए । ‘छानवीन गर्दैछौँ के कारणले यस्तो भयो त्यसपछि मात्रै भन्न सकिन्छ’ डा. पन्तले भने । उनले परिवार नियोजन र बसाई सराईले तोकिए भन्दा कम बालबालिका भएर यस्तो हुनसक्ने समेत धारणा राखे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *