३८ बर्षे जागिरे यात्रा टुङ्याउँदै स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती विदा भए

काठमाडौँ, २९ जेठ । एघार महिना अघि  सचिवमा बढुवा भएका डा. सेनेन्द्रराज उप्रेती स्वास्थ्य मन्त्रालयबाट विदा भएका छन् । मन्त्रालयमा प्रमुख विशेषज्ञ रहेका डा. उप्रेती गतवर्ष ३१ असारमा सचिवमा बढुवा भएका थिए ।

सोमबार मन्त्रालयमा आयोजित विदाई समारोहमा सचिव डा. उप्रेतीले अवकाश पछिको जीवन स्वास्थ्य र सामाजिक सेवामै विदाउने बताए । त्यसअघि उनले आफ्नो ३८ बर्षे कार्यकालमा भए गरेका कामको ‘व्रिफिङ ‘ गरेका थिए ।

विसं २०३५ सालमा हेल्थ असिस्टेन्टबाट स्वास्थ्य सेवामा प्रवेश गरेका डा. उप्रेतीले सेवाकालको १८ बर्ष हिमाली जिल्लामा विताएको बताए । आफ्नो ३८ बर्षे जागिरे यात्रामा ३४ स्थानमा सरुवा भएको जानकारी दिए । हेल्थ असिस्टेन्टबाट सुरु गरेर सचिवसम्म पुगेका डा. उप्रेतीले सो स्थानसम्म पुग्ने क्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक बाहेक सबै पदको अनुभव भएको बताए ।

‘मैले जागिरे जीवनमा क्षेत्रीय स्वास्थ्य निर्देशक बन्ने अवसर प्राप्त गरिन त्यसबाहेक सबै अनुभव हुँदै आयो । हे अ भएँ, मे अ भएँ, बरिष्ठ मेडिकल अधिकृत भएँ, जिल्ला स्वास्थ्य प्रमुख, निर्देशक, महानिर्देशक, प्रमुख विशेषज्ञ हुँदै सचिवसम्म आइपुगेको हुँ ‘ उनले बताए ।

विदाई मन्तव्यमा उनले आफू महानिर्देशक हुँदा अनियमितताको आरोपमा अख्तियारबाट मुद्धा चलेपछि निलम्वनमा परेको प्रशंग समेत उप्काए ‘ ४५ दिन निलम्वन समेत भएँ’, भावुक स्वरमा उनले भने ।

सचिवमा आइसकेपछि आफूले दातृ निकायसंग सम्वन्ध सुध्रीड गर्ने देखि लिएर स्वास्थ्य सेवालाई व्यवस्थि तगर्ने कार्यमा खटिरहेको दावी गरे ।
विदाई कार्यक्रममा निमित्त सचिवको जिम्मेबारी पाएकी डा.  किरण रेग्मीले डा. उप्रेतीको प्रसंशा गर्दै आफूले धेरै कुरा सिकेको बताइन् । उनले डा. उप्रेतीलाई स्वास्थ्यको इन्साइक्लो पिडीया भएको बताइन । पछिल्लो समय उप्रेतीले छाडेका जिम्मेबारी आफूले सम्हाल्दै आएको भन्दै सचिवको जिम्मेबारी पनि आफूले सम्हाल्ने अवसर पाएको बताइन । उनले आफू सचिवका लागि सक्षम रहेको बताइन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले डा. उप्रेतीलाई कुशल प्राविधिक र प्रशासक भएको भन्दै बाँकी सुखमय बनोस भन्ने शुभकामना दिए । उनले डा उप्रेतीले आफ्नो ३८ बर्षे सेवा इमान्दारितापूर्वक निभाएको भन्दै नयाँ पुस्ताका कर्मचारीहरुका लागि प्रेरणाको स्रोत भएको बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभाग, महाशाखा, प्रतिष्ठान, अस्पतालका कर्मचारीहरुले खाँदा लगाई विदाइ गरेका थिए ।
डा. उप्रेती मंगलबारदेखि लागू हुने गरी अनिवार्य अवकाशमा जाँदैछन् ।भोलि देखि नै निमित्त सचिवको जिम्मेबारी डा. रेग्मीले सम्हाल्नेछिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *