शिशुलाई छात्रबृद्धि दिने सहमतिपछि सुत्केरीको शव उठ्यो

चितवन, २९ जेठ । भरतपुर अस्पतालका चिकित्सकको कमजोरीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलित भएका स्थानीयले सहमतिपछि शव बुझेका छन् ।

चितवनको भरतपुरमा व्यवसाय गर्दै आएकी नवलपरासीकी कोपिला ज्ञवालीको यही जेठ ७ गते शल्यक्रिया गरी बच्चा निकालिएको थियो । उनको आइसियुमा राखेर उपचार गर्दा पनि सफल नहुँदा १९ दिनपछि गत शनिबार मृत्यु भएको थियो ।

चिकित्सकको लापर्बाहीले उनको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका थिए । आइतबार साँझ प्रमुख जिल्ला अधिकारी नारायण भट्टसहित भएको छलफल सहमतिमा टुङ्गेपछि साँझ ६ बजे शव उठेको चितवन प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख दीपक थापाका अनुसार सबैको पहलमा बालकलाई छात्रवृत्तिमा पठाइदिने र उनको आजीवन अस्पतालले निःशुल्क उपचार गर्नेलगायतको सहमतिपछि शव उठेको हो ।

उनका अनुसार सो विषयमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित एउटा समितिसमेत बनाइएको छ । अस्पतालले भने उनको इन्फेक्सन भएकाले मृत्यु भएको जनाएको छ । शिशुको स्वास्थ्य भने राम्रो छ ।

मृतकका दाजु जीवलाल पौडेल अस्पतालको लापर्बाही कै कारण बहिनीको मृत्यु भएको दाबी गर्छन । उनले घटनाको विषयमा एउटा समिति पनि बनाइएको र अन्तिममा बच्चाले चाहेमा जागिर दिने, अस्पतालले निःशुल्क उपचार गर्ने, सबैको पहलमा निःशुल्क पढाउने सहमति गरेर शव बुझेको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *