पोषणयुक्त खाना खाने नेपाली एक तिहाई मात्रै ?
काठमाडौँ, २६ जेठ । नेपालमा करीब एक तिहाई मानिस मात्रै न्युनतम पोषणयुक्त खानाको पहुँचमा रहेको पाइएको छ । हरेक १० मध्ये ३ जना व्यक्ति मात्रै न्युनतम पोषणको पहुँचमा रहेको पाइएको हो ।
राष्ट्रिय योजना आयोगले पोषणको अवस्था बारे छलफल गर्न आयोजित कार्यक्रमा बोल्ने विज्ञहरुले यहि अवस्थालाई रहन दिए भविस्यमा ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिए ।
उनीहरुले पोष्टिक खाना छाडेर जंकफुड रोज्ने चलनले पछिल्लो समयमा कुपोषण बढ्दै गएको बताए । उनीहरुले गर्भवती अवस्था देखि नै पोषणमा ध्यान दिनुपर्ने भन्दै अहिले त्यसो नहुँदा समस्या परेको बताए ।
‘धेरैलाई थाह छैन बच्चाको २ बर्ष पुग्दा नपुग्दै ८० प्रतिशत मस्तिस्क बृद्धि भईसकेको हुन्छ । पोषणयुक्त बच्चा भयो भने रोगले सताउदैन, शारिरीक र मानसिक रुपमा पनि उ बलियो हुन्छ । यसका लागि सुनौला हजार दिन गर्भदेखि २ बर्षसम्मको अवस्थालाई विशेष ख्याल गर्नुपर्छ,’ प्राडा मधु दिक्षित देवकोटाले भनिन् । उनले सरकारले सुरु गरेको बहुक्षेत्रीय पोषण कार्यक्रम पनि त्यति सफल नभएको बताइन ।
राष्ट्रिय योजना आयोगका निर्देशक कृष्णमुरारी न्यौपानेले मस्तिष्क लगायत अन्य प्रमुख अंगहरुको सही विकासका लागि बालबालिकाको पोषण स्थिति राम्रो हुन पर्छ भन्दै त्यसका लागि आमाले जन्मेको सन्तानलाई ६ महिनासम्म दुध मात्रै खुवाउन सल्लाह दिए । उनले आमाले गर्भवती अवस्था देखि नै पोषणयुक्त खानेकुरा खान जरुरी रहेको बताए ।
सो अवसरमा सहभागीहरुले जंकफुड भन्दा आफ्नै अर्गानिक खानेकुरा खान सुझाव दिएका थिए ।
सम्पर्क इमेल : [email protected]